काठमाडौं । अब सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम आइएमई पेबाटै भुक्तानी गर्न सक्ने भएका छन् । सेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने भएका हुन् ।
हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएको छ । टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरेका छन् ।
यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्ने छन् । यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।