माइ पेले सार्वजनिक गर्यो माइपे क्वाइन, १ क्वाइन बराबर १ रूपैयाँनै मूल्य हुने

काठमाडौं । माई पे डिजिटल वालेटले माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर १ रूपैयाँनै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।

यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पे को भनाइ छ ।

उदाहरणको लागि माई पे बाट १ हजार रुपैयाँको मोबाइल टपअप गरियो भने ४ प्रतिशत (४०) रूपैयाँ फिर्ता हुन्छ । जसमा २० रुपैयाँ क्यासको रुपमा वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ ।

यसरी प्राप्त भएको क्वाइन अब ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । मानौं अघिको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ । अब अर्को कारोबारको रुपमा एक हजार रुपैयाँको कुनै इन्टरनेटको बिल भुक्तानी गरियो। अब बिल भुक्तानी गर्दा माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।

पहिलो विकल्प छनौट गर्दा वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईले वालेटमा बैंक लिंक गरिएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सकिने छ ।

जस्तो एक हजार रुपैयाँको बिल तिर्दा ९८० रुपैयाँ बालेटमा भएको रुपैयाँबाट र २० रुपैयाँ नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सकिन्छ । यस भुक्तानी पछि पनि तपाईंले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सकिन्छ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । माई पे का अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यहि समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स