अब सवारी अनुमति पत्र तीन दिनमै !

काठमाडौं । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिकरुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको बताए ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङ, हेटौंडा, जगातिलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बताए ।

मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताए । ‘उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौंभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौं’, उनले भने ।

सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उनको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताए ।

आज बिहान सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङमा सेवा लिन आएका नागार्जुन नगरपालिका-२ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताए । ‘यस्तो सेवा सधैं प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ’, उनले भने ।

ठूलोभ¥याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व संकलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ ।

यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापाले बताए । ठूलोभ¥याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स