सर्जन विक प्रकरणमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई सक्कल फाइल लिएर उपस्थित हुन समितिको निर्देशन

काठमाडौं । बीमा समितिले सर्जन विक प्रकरणमा छानविन गर्न रिलायन्स लाइफ इन्स्योरेन्सलाई भोलि मंगलबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ । समितिले आज सोमबार पत्र पठाउँदै कम्पनीलाई भोलि मंगलबार सक्कल फाइल लिएर समितिमा उपस्थित हुन निर्देशन दिएको हो ।

समितिले पत्रमार्फत् भनेको छ ‘त्यहाँ बीमकबाट बीमित सार्जन विकको नाममा जारी भएको बीमालेखमा जोखिमाङकन तथा दावी भुक्तानी प्रकृयामा अनियमितताजन्य कार्य भएको बीमालेखबाट गैर कानूनी लाभ लिन बीमितको हत्या तथा अपराधजन्य घटना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोबाट समेत अनुसन्धान भएको भनी बिभिन्न पत्र पत्रिका तथा अनलाईन खबरहरूमा प्रकाशन भएको प्रति समितिको ध्यानाकर्षण हुन गएको छ ।

यस सम्बन्धमा बीमा ऐन २०४९ को दफा ३९ बमोजिम जाँचबुझ प्रयोजनका लागि उक्त बीमालेखसँग सम्बन्धित निम्न लिखित कागजात सहित पत्र प्राप्त भएको २४ घण्टाभित्र समितिमा उपस्थित हुन निर्णयानुसार जानकारी गराइएको छ ।’

मंगलबार सक्कल फाइलसहित कम्पनीका दावी भुक्तानी विभाग प्रमुख तथा अण्डराईटिङ विभागका प्रमुख तथा उच्च पदाधिकारीहरु बीमा समितिमा उपस्थित हुनुपर्ने समिमिले जनाएको छ । सर्जन विकको फाइल बीमा समिति पुगेपछि समितिले बीमा गरेदेखि दावी भुक्तानी प्रक्रिया समेतका विषयमा छानबिन गर्नेछ ।

रिलायन्स लाइफबाट करिब ३ वर्षअघि गरिएको म्यादी बीमा प्रकरणबारे समितिले विशेष चासो देखाउँदै कम्पनीलाई पत्र काटेको हो । समितिले कम्पनीलाई सोमबार कार्यालय समयावधी भित्र बीमालेख, प्रस्ताब फारम, आम्दानीको श्रोत, करचुक्ता, स्वास्थ्य सम्बन्धी कागजात, अभिकर्ताको प्रतिवेदन, जोखिमाडकन सम्बन्धी अधिकार प्रत्यायोजन तथा स्वीकृत गर्ने अधिकृतहरूको विवरण माग गरेको हो ।

दावी भुक्तानी सम्बन्धीः दावी फारम, मृत्युदर्ता तथा नाता प्रमाणित, दावी विभागका सम्बन्धित अधिकारी, उपसमितिको नामनामेसी तथा निर्णय, डिस्चार्ज भौचर समेत माग गर्दै सम्बन्धि व्यक्तिहरूलाई उपस्थित हुन निर्देशन दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स