काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा, ४ पेजको ‘सुसाइड नोट’ समेत फेला

काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको छ ।

सोमबार विद्यालय जाने छोरी नआएपछि छिमेकीले बोलाउन जाँदा घरबाट केही आवाज नआएको र घरको सबै झ्याल ढोका बन्द रहेको थियो । त्यसपछि छिमेकीले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फोडेर हेर्दा घरभित्र चारजना मृत अवस्थामा भेटिएका थिए । जसमा दिनेश झुण्डिएको अवस्थामा थिए भने एउटा खाटमाथि छोराछोरीको शव थियो । खाटमुनि अर्धनग्न अवस्थामा दिनेशकी श्रीमतीको शव भेटिएको थियो ।

मृत भेटिनेमा गोरखा घर भई यहाँ बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिका रहेका छन् ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

प्रहरीका अनुसार पाण्डे १२ वर्ष वैदेशिक रोजगारीमा कुवेत गएको र साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । त्यस्तै पाण्डेकी श्रीमती सुुनीता विदेश जाने तयारीमा थिइन् । उनीहरुबीच पटक–पटक विवाद हुँदै आएको र विवादकै कारण ३ पटकसम्म बालाजु वृत्तमा पुगेको पाइएको छ ।

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स