ड्राइभिङ लाइसेन्सको परीक्षा भदौ २० गतेदेखि, नयाँ वा पुरानो कुन प्रणालीबाट ट्रायाल परीक्षा लिने भन्ने अन्योलमा लाइसेन्स कार्यालय

काठमाडौं । बैशाख १६ गतेदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा भदौ २० गते (आइतबार) देखि शुरु हुनेछ । ड्राइभिङ लाइसेन्सको परीक्षा सञ्चालन गर्न काठमाडौं उपत्यकाका ४ लाइसेन्स कार्यालय तयार भए पनि कुन मोडालिटी (मोबाइल एप वा पुरानै व्यवस्था)बाट परीक्षा सञ्चालन गर्ने भन्ने अन्योलता देखिएको हो ।

विभागले ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गर्दै सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ ल्याएको छ । नयाँ कार्यविधि अनुसार मोबाइल एपको सहायतले ड्राइभिङ लाइसेन्सको ट्रयाल दिनेको निरीक्षण गरिनेछ । विभागले नयाँ कार्यविधि अनुसार भदौ २० गतेदेखि ड्राइभिङ परीक्षा सञ्चालन गर्न लाइसेन्स कार्यालयहरुलाई परिपत्र जारी गरेको छ ।

तर उपत्यकाका लाइसेन्स कार्यालयहरु भने नयाँ कार्यविधि अनुसार ड्राइभिङ लाइसेन्सको ट्रयाल सञ्चालन गर्न व्यवहारिक समस्या रहेको बताउँछन् । परीक्षार्थीहरुले पुरानै प्रणालीमा सहभागी हुनका लागि आवेदन बुझाएकाले सोही अनुसार परीक्षाको प्रक्रिया अघि बढाइएको यातयात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमती प्रदेश, ललितपुरका प्रमुख राजुभाई कुस्माले बताए ।

‘नयाँ प्रणालीबाट ट्रायल लिन जनशक्तिको अभाव छ । ५ जनाबाट हुने कामका लागि ७ जना कर्मचारीको आवश्यक पर्छ,’ कुस्माले हाम्रोअर्थसँग भने, ‘पानी पर्दा घाम लाग्दा पनि एप सञ्चालन गर्न समस्या छ ।’

यी विविध व्यवहारिक समस्याका कारण रिट्रायाल र राजस्व बुझाइसकेका हकमा पूरानै प्रणालीअनुसार परीक्षा सञ्चालन गर्ने भनेर उपत्यकाका ४ कार्यालयले तयारी अघि बढाएको उनले जानकारी दिए ।

लाइसेन्स कार्यालयहरुले पहिलो चरणमा रिट्रायाल र ड्राइभिङ लाइसेन्सका लागि राजस्व बुझाएका सेवाग्राहीलाई सेवा दिनेछन् । रिट्रायल र राजस्व बुझाइसकेका परीक्षा सकिएपछि अनलाइन मार्फत् आवेदन दिएकाको परीक्षा खुलाउने तयारी गर्नेछन् ।

हाल करिब ६ लाखले ड्राइभिङ लाइसेन्सको परीक्षामा सहभागी हुन आवेदन बुझाएका छन् । आवेदन बुझाउनेको परीक्षा लिइसकेपछि मात्र नयाँ आवेदन खुलाउने लाइसेन्स कार्यालयहरुको योजना छ ।

प्रतिक्रिया

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स