काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै ४.८९ बढी आवेदन परेको छ ।
शुक्रबार अपरान्ह १ः३० बजेसम्ममा २ लाख ४ हजार ९८९ आवेदनबाट २३ करोड ८४ लाख ३९ हजार रुपैयाँ बराबरको २३ लाख ८४ हजार ३९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
जुन सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको ४.८९ गुणा बढी हुन आउँछ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन २७ गते हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।