काठमाडौं । नक्कली विवाह गरेर युवकको हत्या गरि साढे २ करोड बीमा भुक्तानी लिने ६ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले आज पत्रकार सम्मेलन गरेर पक्राउ परेका २ महिला र ४ पुरुषलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा रहेका छन् । उनीहरुले बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको दाबी छ ।
मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।
यस घटना हुनु अघि उक्त समूहले विकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीया सपना मल्लसँग नक्कली विवाह गराएका थिए । रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए ।
वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको प्रहरीले बताएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।
प्रहरीका अनुसार अयार्लको खातामा ८० लाख ३६ हजार, दिपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ । ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको पाइएको प्रहरीले जनाएको छ ।
यस घटनाका मुख्य योजनाकार अर्याल हुन् भने बीमा एजेन्ट खाँको आयालसँगै पुरानै चिनजान थियो । विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर ललिताले मल्ललाई सञ्जीवसँग चिनजान गराएका थिए । सपनाको सर्जनसँग विवाह दर्ताका बेलामा मात्रै भेट भएकाले बिहे नक्कली भएको प्रमाणित हुने प्रहरीले बताएको छ ।
दाबी भुक्तानीको लागि आवेदन परेपछि नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८/९/३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गरेको थियो । सोहि अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।