बैंकिङ र मर्चेन्ट बैकिङ क्षेत्रमा डेढ दशक समय खर्चेका पारसमणि ढकाल अहिले ग्लोबल आईएमई क्यापिटलको नेतृत्वमा छन् । सन् २००७ बाट बैकिङ करिअर सुरु गरेका ढकालले करिब ५ वर्ष बैकिङ क्षेत्रमा बिताए । २ वर्ष चार्टर्ड एकाउन्टेन्सीको अभ्यासमा गरे । त्यसपछि सन् २०१४ मा उनी ग्लोबल आईएमई क्यापिटल प्रवेश गरेका हुन् ।

क्यापिटल प्रवेश गरेको करिब एक वर्षपछि नेतृत्व सम्हालेका ढकालले यसअघि ‘ग्लोबल आईएमई समुन्नत योजना–१’ नामक म्युचअल फण्ड सञ्चालनमा ल्याएका थिए ।  अहिले क्यापिटलले दोस्रो योजना – ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड- १ का इकाईको निष्कासन सुरु भएको छ ।

उक्त फण्डमा प्रवर्द्धक ग्लोबल आईएमई बैंकलाई साढे १३ प्रतिशत र व्यवस्थापक ग्लोबल आईएमई क्यापिटललाई १.५ प्रतिशत हिस्सा सुरक्षित गरी बाँकी ८५ प्रतिशत बराबरका इकाई सर्वसाधारणमा बिक्री सुरु भएको हो । कुल १ अर्ब २० करोड रुपैयाँ आकारको उक्त कोषको पुँजी संकलन सुरु गरेका ढकालसँग समग्र धितोपत्र बजारका सन्दर्भमा हाम्रोअर्थले गरेको कुराकानी:

अहिले मार्केटलाई कसरी हेरिरहनु भएको छ ?
अहिलेको मार्केट सेल्फ डिर्भन मार्केट हो । मार्केट भनेको बायर र सेलरको टे«ड हो । त्यसमा सन्तुलन हुनुपर्छ भन्ने जुन खालको मान्यता छ त्यसकै मान्यताका आधारमा काम हुने हो । सकारात्मक दृश्य देखियो भने बायर बढ्ने र नकारात्मक दृश्य देखियो भने सेलर बढेर आउने मार्केटको सर्वमान्य मान्यता हो । केही प्रोभिजनहरू आए त्यसले गर्दा बजार सामान्यबाट असामान्यतिर गएको देखिएको हो ।

अहिलेको यो अवस्था ठ्याक्कै सेलर मार्केट हो । सप्लाई डोमिनेटेड मार्केट भएर हामीले बेचेको देख्न सक्छाँै । अहिले सेयर मार्केटलाई हेर्ने हो भने क–कसको कुरा सुन्ने ? अर्थशास्त्रीको सुन्ने कि लगानीकर्ताको सुन्ने । सबैको सुनेर कसको कार्यान्वयन गर्ने ? के उहाँहरूले साच्चिकै नेपालको वर्तमान अर्थतन्त्र कस्तो हुन्छ भनेर प्रस्ट पार्न सक्नु हुन्छ त । लगानीकर्ताहरू अन्योलमा छन् । कहि कतै सकारात्मकता छ भनेर खोजिरहेको अवस्था छ ।

तर, अहिले नेपालको सेयर बजारलाई कालो बादलले ढाकेको म देख्छु । फिसकल पोलिसीले एक खालको अवधारणा कायम गरेको छ र सायद अबको एक हप्ताभित्र मौद्रिक नीति पनि आउँछ होला ।

मौद्रिक नीतिको सन्दर्भमा यति धेरै छलफलका कार्यक्रम भए कि, इतिहासमा पहिला कहिल्यै यति धरै कार्यक्रम भएजस्तोे लाग्दैन । प्रत्येक पटक कुराहरु आईरहेका छन् । हाम्रो अवस्था कहाँ छ ? कस्तो ठाउँमा छ ?

हामीमा जति जानकारी छ त्यो भन्दा बढी जानकारी उहाँहरूसँगै छ । मनिटरी पोलिसी नआउँदासम्म लगानीकर्ताहरूमा एक खालको अन्योलको अवस्था थियो । लगानीकर्ताहरू इन्भेष्टर हुन् र उनीहरूले पनि पूर्णरुपमा जानकारी पाएपछि बल्ल कुनै निर्णय लिन्छन् । मनिटरी पोलिसी आएपछि लगानीकर्ताहरू अबको मार्केट कता जान्छ भनेर एक खालको रणनीति बनाएर अघि बढ्न सक्छन् । अहिलेसम्म अन्योलताकै अवस्था छ ।

‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड’को बारेमा प्रस्ट परिदिनुस् न ?

‘ग्लोबल आइएमई ब्यालेन्स फन्ड १’ को कुरा गर्दा जुन खालको बजारमा अपेक्षा गरिएको थियो त्यही अनुरुपको सहभागिता देखिएको छैन । यो भन्दा अघिल्लो पटक चार दिनमा ओभर सस्क्राइव भएको थियो भने अहिले १५ दिन कट्दा पनि कोटा पुरा नभएर लम्बाएर राखेका छौँ । यो सबै हाम्रो हातको कुरा पनि भएन । अहिले लगानीकर्ताको मनोबल कमजोर भएको अवस्था छ ।

यसका अलवा हामीले साना लगानीकर्तालाई जुन तरिकाले आकर्षण गर्नु पर्ने हुन्थ्यो, त्यो हिसाबले हुन सकिरहेको छैन । संस्थागत लगानीकर्तालाई अनुरोध गरेरै लिएर आउने हो । यो फण्डको अर्को महत्वपूर्ण विषय भनेको म्युचअल फण्ड निकालेको १० वर्षको लागि हो ।

तत्काल परिणाम हरेर त हुन्न । म्युचअल फण्ड भनेको ब्यालेन्स फन्ड हो । इक्युटीमै कन्सनर्टेट गरेर आउने फन्डको छुट्टै कुरा हुन्छ । हामीले प्रोजेक्सन गरेभन्दा बढि नै प्रतिफल दिन सक्छौ कि भन्ने एकखालको आशा हामीलाई छ । मार्केट घटे बढे जे भए पनि इन्भेष्टमेन्ट गर्ने भनेकै न्यून विन्दुमा आउँदा नै हो ।

हामीकहाँ कस्तो छ भने, रातो भएपछि उस्तै पर्यो भने मार्केट हेर्न पनि छोड्ने र सेयरको मूल्य बढेको बेलामा किन्ने परिपाठी छ । जबकी हुनुपर्ने चाहिँ घट्दो बजारमा रणनीति बनाएर किन्ने र बढ्को बेलामा बेच्ने हुनुपर्ने हो । यस हिसाबले हेर्ने हो भने हाम्रो म्युचअल फण्ड उपयुक्त समयमा आएको छ ।

यसको च्यालेन्ज भनेको लगानीको हो । मार्केट भनेको सधैँ अनिश्चयमा बितिरहेको हुन्छ । रिस्क लिने भनेकै अनिश्चत हुँदा हो । त्यस कारणले पनि लिएर आएका हौं । बेच्न अवश्य पनि सक्षम हुन्छौं ।

राम्रो प्रतिफल प्रदान गर्दागर्दै पनि म्युचअल फण्डले नेपालमा त्यति बजार लिन सकेको देखिदैन नि ?

हो, नेपालमा म्युचअल फण्डमा लगानी गर्ते लगानीकर्ताले राम्रै प्रतिफल पाइरहनु भएको छ । म्युचअल फण्डमा हामीले २/३ वर्ष प्रतिफल दिन नसके पनि चौथो वर्षबाट बढेको हो । बढ्दा पनि १०४ प्रतिशत औसतमा बढेको हो । ६/७ वर्षको १०४ को मुनाफालाई हिसाब गर्ने हो भने १७ प्रतिशतको रिर्टन हुन आउँछ । समग्र मार्केटको हेर्ने हो भने १२ देखि १३ प्रतिशतको रिर्टन देखिएको छ ।

म्युचअल फन्डको विदेशी बजारसँग तुलना गर्ने हो भने उनीहरूले प्रचार प्रसारमा अलि बढि पैसा खर्च गरेका छन् । हामीकहाँ भन्दा अलि बढि कमप्लेक्सिटी पनि छ । डेरिभेटिभ छ । कमोडिटी छ । धेरै कुराहरू छन् । त्यहाँको स्टक मार्केट हाम्रो जस्तो होइन, जटिल छ । हाम्रोमा कम्प्लेक्स साधनहरू छैनन् । एउटा कुरा के छ भने साधारण सेयरको ५ प्रतिशत म्युचअल फण्ड लाई छुट्याइएको छ ।

बजारमा इस्यू म्यानेजरले टन्न पैसा कमाउँछन् भन्ने छ नि ? खासमा कुरा के हो ?
मार्केटमा अर्को मिस कन्सेपसन के छ भने डिपोजिटरी र इस्यू म्यानेजरले म्युचअल फण्डबाट पैसा पाउँछन् भन्ने छ । हामीले निश्चित कमिसन पाउने हो । फरदर केही पाउने होइन अलिकति रिर्टन बढि पाएका छौ होला । त्यो भन्दा बढि हामीले केहि पाएका छैनौ ।

कस्ता लगानीकर्ताले म्युचअल फण्डमा लगानी गर्न सक्छन् ?

सुरक्षित र सानो लगानी गर्न चाहने लगानीकर्ताले म्युचअल फण्डमा लगानी गर्दा बढि उपयुक्त हन्छ । हामीले म्युचअल फण्डको लगानीकतालाई बुझाउने भनेको तपाईसँग थोरै पैसा भए पनि म्युचअल फण्डमा लगानी गर्दा विविध क्षेत्रमा लगानी हुन्छ भन्ने हो । हजार रुपैयाँले इन्भेष्टमेन्ट गर्ने भनेको सय कित्ता हो । त्यो हजार रुपैयाँ पनि अलिकति एफडीमा गएर बस्छ, अलिकति कल डिपोजिटमा गएर बस्छ ।

यसमा लगानी गर्दा के के फाइदा हुन्छ ?
अहिले म्युचअल फन्डका दुईवटा फाइदा छन् । एउटा सानो लगानीले विविध क्षेत्रमा लगानी गर्ने र अर्को म्युचअल फण्डलाई केही न केही रुपमा आरक्षण छुट्याइएको छ र छुट्याइन्छ भन्ने हो । हाम्रो मार्केट सिम्पल छ । मेरो फन्ड स्पोन्सर भनेको ग्लोबल आईएमी बैंक हो उसको पनि आफ्नै खालको नियामकीय निकाय छ । मेरै पनि प्रफमेन्सका कुराहरू छन् । एक पटक फेल भएपछि फेरि काम गर्न गाह्रो हुन्छ ।

मार्केट भनेको बढेको बढ्यै गर्दैन र घटेको घट्यै पनि गर्दैन । तुलान्तमक रुपमा हेर्ने हो भने जुन खालको घटाइ नेप्सेमा हुन्छ । त्यो म्युचअल फण्डमा पाउनु हुन्न् । म्युचअल फन्डमा रिस्क कम हुन्छ । सेभिङ, एफडीमा पैसा राख्नु भएको छ त्यो पैसा म्युचअल फण्डमा लगानी गर्नुस् । बैंकले दिने रिर्टन भन्दा बढि प्रतिफल म्युचअल फण्डमा लगानी गर्दा हुन्छ ।
संस्थागत लगानीकर्ताहरूले जोखिम कम गर्ने साधनको रुपमा म्युचअल फण्डलाई प्रयोग गर्न सक्नुहुन्छ । जस्तै सय रुपैयाँ अरुमा लगानी गर्दा दश रुपैयाँ म्युचअल फण्डमा लगानी गर्नुहोस् जसले गर्दा दस रुपैयाँले तपाईको निश्चित प्रतिफल दिने भयो । घाटा लाग्दा पनि यसमा कममात्रै लाग्छ ।

अरु सुविधा भनेको म्युचअल फण्डलाई पुँजी बढाउने सुविधा पनि छ । जस्तै अहिलेको मेरो म्युचअल फण्ड एक अर्ब २० करोडको छ त्यसलाई बढाएर एक अर्ब ५० करोड रुपैयाँसम्म पुर्याउन सक्ने सुविधा छ ।

म्युचअल फण्डले काम गर्ने प्रक्रिया बारेमा प्रकाश पारदिनुुस् न ?

मार्केटको आजको आवश्यकता भनेको ब्यालेन्स फण्डको आवश्यकता हो । फिक्स इनकमको रुपमा यो राम्रो मौका हो । यसमा न्यून रिक्स हुन्छ । जसले जे सुकै भनेपनि सेयर मार्केटको लगानी भनेको अलिकत बढि नै जोखिमको लागनी हो । रिेस्कको सौदाबाजी हो जतिबेला जे पनि हुन सक्छ । हामी म्युचअल फन्डहरूले कम्तिमा २० प्रतिशत पुँजी बजारमै लगानी गर्नुपर्छ । त्यो नियामक निकायले हेरिरहेको हुन्छ । त्यो नमान्ने भन्ने कुरा हुँदैन मान्नेैे पर्छ । त्यसैमा मार्केट राम्रो हुँदै गयो भने इक्वीटीलाई बढाउँदा फिक्स इनकम स्रोतलाई घटाउँदै जान्छौ । हाम्रो त ब्यालेन्स फण्ड हो । बढि अस्थिर देखिएर गयो भने फिक्ट इनमकमा लगानी गर्छौ । त्यसरी हेर्ने हो भने ब्यालेन्स फण्ड बेस्ट हुन्छ ।

अघिल्लो पटकको प्रतिफलको कुरा गर्ने हो भने ७ प्रतिशतबाट सुरु गरेर १७ प्रतिशतमा पुगेको छ । त्योभन्दा यसपाली अझ राम्रो गर्छौ । म शतप्रतिशत विश्वस्त छु कि हामीले प्रतिबद्धता गरेभन्दा बढि नै प्रतिफल प्रदान गर्न सक्छौ । पहिलो ७ वर्षमा गरेर देखाउँछांै भनेका थियौं, ५ वर्षमै गरेर देखायौ । अब मार्केटमा हामी पनि अनुभवी बनिसकेका छौ । जे जसरीमा मार्केटमा हाम्रो उपस्थिति जनाउनु पर्ने हो त्यो देखि बुझि भोगिसकेका छौ । हामीलाई विश्वास गरेर गरेको लगानीको हामी हार्दिकता साथ राम्रो प्रतिफल दिन्छौ । हामीले प्रतिवद्धता गरेभन्दा बढि नै प्रतिफल प्रदान गर्न सक्छौं .

बुक बिल्डिङ प्रक्रियाबाट अब सेयरको मूल्य तोकिने भएको छ । यसमा पनि ग्लोबल आईएमई क्यापिटलले नै काम गरेका हो, यसको आवश्यकता किन पर्यो ?

सेयर बजार भनेको रिस्कको खेती हो । हामीले दुई वटा कम्पनीको बुक बिल्डिङ प्रक्रियामार्फत सेयर निकाल्न लागिरहेका छन् । त्यस कारण विस्तारै सय रुपैयाँमा सेयर पाउने परिपाठी हराउँदै जान्छ । सय रुपैयाँमा आएको लघुवित्तहरूको सेयर पनि कम्तिमा १३÷१४ सय रुपैयाँ पुगेको छ ।

सेयर बजारमा पनि भाग्यको भर गर्नु परेको छ । विस्तारै हाम्रो नेचर अफ बिजनेस फरक हुँदैछ । सर्वोत्तम सिमेन्टका कुरा गर्दा पनि ५०१ रुपैयामा अफर गरेको हो । त्यो त्यतिबेला मूल्य निर्धारण गर्दा त्यति भएको हो । आजको दिनमा त्यसको मूल्य घटेर ४१०–४२० पुगेको छ । १०० रुपैयाँमा आईपीओ भरेर तिन गुणा, चार गुणाले बढ्यो त्यो त विस्तारै हराउँदै जान्छ ।

बुक बिल्डिङमार्फत काम गर्न थालेपछि बजार विस्तारै कम्पेक्स हुन थाल्छ । मार्केटमा जति–जति नयाँ इन्स्टुमेन्टहरू थपिलै जान्छन् त्यत्ति त्यत्ति दायरा बढ्दै जाने हो ।

म्युचअल फण्ड कति प्रकारका हुन्छन् ? र त्यसले कसरी काम गर्छन् ?
यसरी हेर्ने हो भने नेपालमा दुई प्रकारका म्युचअल फण्ड पाइन्छ । ओपन इन्डेड र कोज इन्डेड म्युचअल फण्ड । १ अर्ब २० करोडको म्युचअल फण्ड हो भने यसलाई बढाएर १ अर्ब ५० करोडसम्मको लैजान सकिन्छ भने यसलाई कोलोज इन्डेट म्युचअल फण्ड भनिन्छ ।

ओपन इन्डेड नामैले पनि बुझिन्छ एउटा साइज ब्रोकर मार्केटमा जाने हो, त्यस पछि जति मान्छे थपिदै जान्छन् बढ्दै जाने होे । घट्दै गयो भने लगानीकर्ताले बेच्दैे गए भन्ने बुझिन्छ । ओपन इन्डेटको अर्को विशेषता के छ भने यसले बियरिस र बुलिस मार्केटलाई इन्काउन्टर गर्न सक्छ । ओपन इन्डेडले एसआईपी प्लानलाई बिट गरिरहेको देखिन्छ ।
लगानी सुरक्षित गर्न म्युचअल फण्ड ल्याइएको हो ।

नेपालको सन्दर्भमा अहिले निर्देशिका हेर्ने हो भने कुन कुनमा कति कति लगानी गर्नु पर्छ भन नै त्यहाँ तोकिदिएको छ । न्यूनतम कति लगानी गर्नुपर्छ भन्ने त्यहाँ प्रावधान छ । अधिकतम जति नि गर्न पाइयो तर न्यूनतमको त्यहाँ प्रावधान छ ।

उक्त फण्डलाई कल डिपोजित र एफडीमा राखेर ब्याज, डिबेञ्चर तथा इक्वीटीबाट डिभिडेन्ट र क्यापिटल गेनबाट कमाइरहेको हुन्छु । त्यसबाट जम्मा भएको पैसाबाटै हामीले लगानीकर्तालाई प्रतिफल बाढ्ने हो ।

हामीले ओपन इन्डेडलाई किन चलनचल्तीमा नल्याएको त ?
यसको बारेमा सोचेका छौँ । अबको २–३ महिनामा दर्ता चाँहि गर्छौ । क्लोज इन्डेडमा जस्तो ओपन इन्डेडमा लगानी जुटाउँन गाह्रो छैन । विस्तारै भविष्य भनेको ओपन इन्डेडको नै हो । इण्डियाकै कुरा गर्ने हो भने १९९३ मा सुरु भएको म्युचअल फण्ड आज कहाँ पुगिसक्यो । मार्केटले डाइभर्सन गर्ने क्षमता बोक्छ, संस्थागत लगानीकर्ता आउँछन् भने त्यो अवस्थामा अझ सहज हुन्छ । अन्तर्राष्ट्रिय बजारमा पनि त्यो खालको ट्रेन र समानता छ । यो एउटाले गरेर हुने होइन बजारमा संस्थागत लगानीकर्ता आइसकेपछि फरक दृश्य देख्न पाइन्न्छ ।

बजारमा अर्को साइजको कुरा पनि आउँछ । २५ देखि ४५ अर्बको मार्केट छ भने कति साइजको म्युचअल फन्डले डाईभर्सन गर्न सक्छ भन्ने कुरा हो । एक तह भन्दा तल सेयर पुगे पछि किन्ने मान्छे आउँछन् भने एक तह भन्दा माथि पुगे पछि बेच्ने मान्छे आउँछन् । संस्थागत लगानीकर्ता एउटा नियममा बाधिनु पर्ने हुन्छ भने एक्लो लगानी गर्नेलाई नियममा बस्नु पर्दैन ।

विभिन्न ठाउँमा लगानी गरेर आर्जन भएको पैसालाई कसरी लाभांशको रुपमा बाडिन्छ ?
म्युचअल फण्डमा लाभांश बढ्ने आफ्नै फरमूला छ । डिभिडेन्ट बाड्दा १० रुपैयाँ भन्दा कम हुने गरी बाड्न पाइदैन । अर्को त्यो लाभांश चाहिँ नगदमै कन्भर्ट गरेर बाड्नु पर्छ । सेयरको जस्तो बोनस सेयर दिन पाइदैन । मैले कुनै

कम्पनीको सेयर ५ सयमा किने र त्यसको बजार मूल्य त्यसको बजार मूल्य २५/२६ सय भने २ हजार त नाफा भयो । तर, त्यसलाई तब सम्म गनिदैन तब सम्म त्यसको सेयर बेचेर रुपैयाँमा कन्र्भट गरिदैन । त्यसमा अन रिअलाइज गेनबाट पनि लांभास बाड्न पाइँदैन । लाभांश बाड्दा एउटा १० रुपैयाँ भन्दा कम हुनु भएन अर्को सेयर नगदमै रुपान्तरण गरेको हुनुपर्छ ।

म्युचअल फण्डले ‘न्याभ’ भ्यालू पनि मेन्टेन गर्न सकेन नि ?
प्रति कित्ता दस रुपैयाँको ‘न्याभ’ मेन्टेन गर्न नसकेको भन्ने कुरा साँच्चिकै हो । किनभने हाम्रो मार्केट भनेको वान साइडेड मार्केट हो । ४०/५० प्रतिशत घटेका मार्केटमा पनि म्युचअल फण्ड भने त्यसरी घटेको देखिदैन । म्युचलअको केहि हिस्सा एफडीमा राख्नै पर्ने वाध्यात्मक व्यवस्था छ । त्यसकारण इम्वीटीमै सबै फण्ड राख्ने चासो भएपनि राख्न पाइँदैन । सेफ लगानीको व्यवस्था सहित म्युचअल फण्ड आएकोले बजारमा पहिरो जाँदा पनि म्युचअल फण्डलाई त्यस्तो हानी गर्दैन ।

हाम्रो मार्केट त्यस्तो जटिल छैन, डेरिभेटिभ सर्ट सेलहरु छैनन् । त्यसले गर्दा घट्दो बजारमा पैसा कमाउन सकिदैन । नेप्सेलाई बेन्चमार्क मान्ने हो भने राम्रो मुनाफा म्युचअल फण्डले दिइरहेको हुन्छ । ओपन इन्डेड म्युचअल फण्ड ल्याउन फिक्ड इनकम इन्स्टुमेन्टको साइज आवश्यक पर्छ । कोज इन्डेड म्युचअल फण्डलाई त सेकेन्डरी मार्केटमा डिमान्ड एण्ड सप्लालाईको काम गर्छ भने ओपन इन्डेडमा गाह्रो छ । ओपन इन्डेडमा हाई रिर्टन आउने भएकाले रिक्स पनि हाई नै हुन्छ ।

रिस्कलाई उमेरले पनि प्रभाव पार्छ त्यही पैसा कसैको रिटाएरमेन्ट प्लानको हो भने पक्कै पनि उसको चासोको विषय हुन्छ । तर, २५/३० वर्षको उमेर समूहकालाई अलि कम फरक पर्छ किनभने उमेर छ कमाइन्छ भन्ने हुन्छ । कतिपय मानिस रिक्स पनि लिने र रिर्टन पनि ठूलै खोज्ने हुन्छन् ।

हाम्रो बजारमा कमोडिटी कम भएर हो संस्थागत लगानीकर्ताको आकर्षण नदेखिएको ?
बजारमा धेरै कमोडिटी हुने भनेको पक्कै पनि रिस्क कम हुनु हो किनभने अप्सनहरू धेरै हुन्छन् । अहिले बैंक र फाइनान्स र इन्स्योरेन्सबाट गाइडेट कम्पनी र केहि हाइड्रो छन् । व्याजको दर फरक पर्ना साथ बजार प्रभावित हुन्छ । बैंकलाई नियमन गर्ने डिपोजिट लेन्डिङको कुरा सबै मौद्रिक नीतिले हेर्ने हो । व्याजको दर हेरफेर गर्दा हाइड्रोलाई पनि असर पार्ने नै भयो ।

नेपालले खाजेको भनेको एक्सपोर्ट हो । अहिले बिजुली निर्यात हुन थालिसकेको छ । नेपाल भित्रै पनि डिमान्ड बढेको छ र बाहिर पनि । सिमेन्टको कुरा गर्दा पनि राम्रो छ । अन्तर्राष्ट्रिय बजारमा सिमेन्ट बेच्न सुरु भएको छ । नेपालमै कपडा पनि उत्पादन हुन थालेको छ । पोटफोलियो म्यानेजमेन्टले विस्तारीकरणमा ठूलो महत्व राख्दछ ।

अन्त्यमा म सबै लगानीकर्तालाई ग्लोबल आईएमई ब्यालन्स फण्डमा लगानी गरिदिन आग्रह गर्दै उचित प्रतिफल दिने प्रतिवद्धता गर्दछु । हामी तपाईहरूका लागि लगानी विविधिकरण गर्न नयाँ क्षेत्र लिएर आउँछौं ।

 

हेडलाइन्स