कल डिपोजिटबाट पैसा उठाउनेमा सिद्धार्थ नम्वर ‘वान’, ३९ प्रतिशत हिस्सा

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा वाणिज्य बैंकहरूले २ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँ कल डिपोजिटबाट पैसा उठाएका छन् । देशमा सञ्चालित वाणिज्य बैंकहरूले कल डिपोजिटबाट सो पैसा उठाएका हुन् ।
वाणिज्य बैंकहरूले चैतदेखि जेठ महिनासम्म जम्मा कुल ९ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो निक्षेपमा कल डिपोजिटको हिस्सा ६ अर्ब ६६ करोड ९० लाख अर्थात ६७.५४ प्रतिशत रहेको छ ।

पछिल्लो १ महिनामा बैंकहरूले ४ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ कल डिपोजिटबाट संकलन गरेका हुन् । २७ वटा वाणिज्य बैंकमध्य सिद्धार्थ बैंकले सबैभन्दा बढी डिपोजिट कल डिपोजिटबाट संकलन गरेको छ ।

सिद्धार्थ बैंकले १ महिनामा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँ कल डिपोजिटबाट उठाएको छ । २७ वाणिज्य बैंकले कल डिपोजिटबाट गरेको निक्षेप संकलनमा सिद्धार्थ बैंक एक्लैको हिस्सा ३८.९७ प्रतिशत रहेको छ । यो आर्थिक वर्षको जेठसम्म सिद्धार्थ बैंकको कल डिपोजिटमा १६ अर्ब ९९ करोड निक्षेप रहेको छ ।

सिद्धार्थपछि कल डिपोजिटमा निक्षेप बढी संकलन गर्ने बैंक नबिल बैंक हो । नबिल बैंकले यो अवधिमा १६ अर्ब ४४ करोड रुपैयाँ कल डिपोजिटबाट उठाएको छ । नबिल बैंकको कल डिपोजिटमा भने वैशाख र जेठ महिनामा उत्तिनै रहेको छ । चालु आवमा भने बैंकको यस्तो निक्षेप १६ अर्ब ४४ करोड रुपेयाँ रहेको छ ।

कल डिपोजिटबाट बढी निक्षेप संकलन गर्ने अर्को बैंक हो ग्लोबल आईएमई बैंक । बैंकले कल डिपोजिटबाट चेतदेखि जेठसम्म १४ अर्ब ३५ करोड रुपैयाँ कल डिपोजिटबाट उठाएको छ । ग्लोबल बैंकले जेठ महिनामा ५३ अर्ब रुपैयाँ कल डिपोजिटबाट निक्षेप संकलन गरेको छ ।

नेपाल बैंकको पनि कल डिपोजिटमा संकलन भएको निक्षेप १४ अर्बभन्दा माथि छ । बैंकले वैशाख महिनाको भन्दा जेठमा कल डिपोजिट घटाएको छ । कल डिपोजिटबाट बढी निक्षेप संकलन गर्ने बैंकमा मेगा बैंक पनि परेको छ । बैंकले ३ महिनाको अवधिमा १३ अर्ब ७७ करोड रुपैयाँ कल डिपोजिटबाट संकलन गरेको छ । यद्यपि बैंकले जेठ महिनासम्म संकलन गरेको निक्षेप वैशाख महिनासम्मको भन्दा कम हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि कल डिपोजिटबाट १३ अर्ब ७८ करोड रुपैया निक्षेप संकलन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि वैशाखको तुलनामा जेठमा कल डिपोजिटमा निक्षेप घटाएको छ । जेठ महिनासम्म बैंकहरूको कुल निक्षेप ४३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स