काठमाडौं । आर्थिक वर्ष (आव) २०७७/७८ मा मूल्यवृद्धि ३.६ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मूल्यवृद्धि ३.६ प्रतिशतमा सीमित भएको हो । यो पछिल्लो दुई दशक यताकै न्यून मूल्यवृद्धि दर हो । यसअघि, आर्थिक वर्ष २०५७/५८ मा मूल्यवृद्धि २.४ प्रतिशतमा सीमित भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा मूल्यवृद्धिदर ६.१५ प्रतिशत थियो । पछिल्लो एक दशममा औसत वार्षिक मूल्यवृद्धि दर ६.७ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ ।
मूल्यवृद्धि कम हुँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पूर्व गभरर्नर दिपेन्द्रबहादुर क्षेत्रीले बताए ।
‘मूल्यवृद्धि कम हुँदा सबैको आम्दानी समान रुपले बढ्यो भन्ने बुझिन्छ,’ क्षेत्रीले भने, ‘यसले खर्च गर्न सक्ने क्षमता बढाउँछ ।’
राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य वृद्धिदरलाई आधार लिँदा अघिल्लो वर्ष १० रुपैयाँ खर्च गर्नेले यो वर्ष ३.६ प्रतिशत विन्दुले मात्र खर्च बढ्छ ।
‘उच्च आम्दानी हुनेलाई मूल्यवृद्धिको खासै प्रभाव रहदैन । तर न्यून आय र ज्याला मजदुरी गर्नेलाई मूल्यवृद्धिको ठूलो प्रभाव रहन्छ,’ उनले भने, ‘मूल्यवृद्धि कम भयो भने यस्ता वर्गलाई राहत मिल्छ ।’
मूल्यवृद्धि न्यून विन्दुमा हुनु भनेको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो । ठेक्का पट्टा पूरानै मूल्यमा हुन्छ । आयोजनाको लागत बढ्दैन । मूल्यवृद्धि कम हुँदा बैंकको ब्याजदर घट्छ । लगानीकर्ताले पनि सस्तोदरमा कर्जा लिएर लगानी विस्तार गर्न सक्छन् । यसले गर्दा उद्योग, कलकारखान खोल्नेलाई प्रोत्साहन मिल्ने क्षेत्री बताउँछन् ।
वार्षिक मूल्यवृद्धि कम हुने भएपछि व्यवसायीलाई लगानी गर्न प्रोत्साहन मिल्ने उनी बताउँछन् । मूल्यवृद्धि कम हुँदा पूर्व अनुमानित रकममै उद्योग कलकारखाना स्थापना गर्न सकिन्छ । मूल्यवृद्धि कम हुँदा आर्थिक वृद्धिदर कम हुन्छ । खर्च बढ्यो भने मात्र आर्थिक वृद्धिदर उच्च हुनेछ । यसले गर्दा विकासशिल राष्ट्रभने मूल्यवृद्धि कम हुनुलाई सकारात्मक ढंगले नलिने गरिएको उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकका पूर्व गभरर्नर चिरञ्जीवी नेपालका अनुसार नेपालको मूल्यवृद्धि आयातीत भएकाले मूल्यवृद्धि धेरै देखिएको बताउँछन् । अन्तर्राष्ट्रिय तथा छिमेकी मुलुकमा पनि मूल्य वृद्धि कम भएको छ । यसको आधारमा नेपालको मूल्यवृद्धि अझै कम हुनुपर्ने थियो । तर आयात गरिएका वस्तू धेरै बिक्री हुने भएकाले मूल्य वृद्धि केही बढेको देखिएको पूर्व गभर्नर नेपाल बताउँछन् ।
राष्ट्र बैंकले निश्चित वस्तूहरुको मूल्यका आधारमा मूल्यवृद्धिको हिसाब निकाल्छ
। ‘ती वस्तुको भार कम भयो,’ नेपालले भने, ‘जसले गर्दा मूल्यवृद्धि कम भएको हो ।’ मूल्य वृद्धिको भार निकाल्न प्रयोग गरिने वस्तुहरुको संख्या धेरै राखिएको भए मूल्य वृद्धि झै कम हुने सक्ने उनले बताए ।
उपभोक्ता मुद्रास्फीति
आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तिजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मुल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको छ ।
२०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ मुद्रास्फीति
आर्थिक वर्ष २०७७/७८ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.०० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ८.१६ प्रतिशत रहेको थियो ।
गैर-खाद्य तथा सेवा मुद्रास्फीति
आर्थिक वर्ष २०७७/७८ मा गैर-खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति २.५१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति
आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६ प्रतिशत, ६.२९ प्रतिशत, ५.१० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
२०७८ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.१९ प्रतिशत र सन्२०२१ को जुलाईमा भारतमा ५.५९ प्रतिशत रहेको छ ।
थोक मुद्रास्फीति
आर्थिक वर्ष २०७७÷७८ मा वार्षिक औसत थोक मुद्रास्फीति ७.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । ज्ञछ। २०७८ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो ।
तलव तथा ज्यालादर सूचकाङ्क
आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क १.६० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ९.४३ प्रतिशतले वृद्धि भएको थियो । ज्ञठ। २०७८ असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.७६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४० प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएकोमा तलब सूचकाङ्क यथावत रहेको छ ।