जेठ महिनामा ह्वात्तै बढ्यो मूल्य वृद्धि

काठमाडौं । २०७९ जेठ महिनामा मूल्य वृद्धि ह्वात्तै बढेको छ । वैशाख महिनामा ७.८७ प्रतिशत रहेको मूल्य वृद्धि जेठ महिनामा बढेर ८.५६ प्रतिशत पुगेको हो । गत आवको जेठमा यस्तो मूल्य वृद्धि ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि(मुद्रास्फीति) ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ ।

२०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । २०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहकोमुद्रास्फीति क्रमशः २५.७९ प्रतिशत, ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स