काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रिक नीतिका लागि दर्जन सुझाव दिएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा सिबिफिनले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५ प्रतिशतले बढाएर ९५ प्रतिशत पुर्याउनु पर्ने, विदेशबाट आउने रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी र सञ्चितिमा ल्याउनु पर्ने, उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्नुपर्ने र उत्पादनमूलक क्षेत्र आयात क्षेत्रको कर्जा लगानीमा ब्याजदर अन्तर हुनुपर्नेलगायतका माग राखको हो ।
सिबिफिनका अध्यक्ष पनवकुमार गोल्यानले अव बैंकले कर्जा विस्तार गर्दा उत्पादनमूलक क्षेत्रमा मात्रै गर्नुपर्ने बताए । ‘अव कर्जा प्रवाह गर्दा उत्पादनमूलक उद्योग र आयात कर्जाको ब्याज दर फरक–फरक बनाउनु पर्ने र रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी वा सञ्चितिमा लैजानु पर्छ,’ उनले भने ।
सिबिफिनले विप्रेषण आप्रवाहमा विशेष व्यवस्थापन गर्ने विप्रेषणको निश्चित हिस्सालाई बचत गर्न आकर्षित योजनाहरू ल्याउने, रेमिट्यान्समा विशेष ब्याजदर उपलब्ध गराउने, बीमामा विशेष सुविधा, नेपालमा फर्केर उद्योग सञ्चालन गर्न चाहेमा निजको क्षमतालाई विश्लेषण गरी निजले बचत गरेको रकमको दशौं गुणासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेलगायतका योजना आउनु पर्ने माग सिबिफिनले अघि सारेको छ ।
आईपीओमा आरक्षणको व्यवस्था गर्ने, गैरआवासीय नेपालीहरुका लागि आकर्षक बचत र उत्पादनजन्य उद्योगमा लगानी गर्न विशेष योजना जस्ता व्यवस्थाहरु लागू गर्ने माग राखेको छ ।
महिलाहरुले आफ्नो नाममा २५ लाख रुपैयासम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा उक्त रकमको स्रोत नचाहिने व्यवस्था गर्दा महिलाहरुको आर्थिक एवं सामाजिक सशक्तिकरणमा टेवा पुग्नुको साथै आर्थिक तरलतामा सहयोग पुग्ने पनि सिबिफिनले औल्याएको छ ।
अध्यक्ष गोल्यानले अव बैंकहरूले गर्ने लगानी घरेलु तथा साना उद्यम, उत्पादनमूलक क्षेत्रमा नगए अझै नेपाल आयातमुखी हुने र परनिर्भरता बढ्दै जाने बताए । सीडी रेसियो मौद्रिक नीतिमार्फत ९५ प्रतिशत नबनाए चलिरहेका उद्योगहरुमा पनि कर्जा नपाएर अझ भयावह स्थिति सिर्जना हुने बताए । अध्यक्ष गोल्यानले साउन महिनापछि सिडी रेसियो ९५ प्रतिशत नबनाए बैंकहरुलाई गम्भिर समस्या पर्ने दाबी गरे ।
अध्यक्ष गोल्यानले मौद्रिक नीतिले सीडी रेसियो कायम गर्नुपर्ने वा सीडी रेसियो ९० प्रतिशतबाट ५ प्रतिशत बढाएर ९५ प्रतिशत बनाएर कर्जा बिस्तार उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताए । उनले सरकारदेखि नीति क्षेत्र, बैंकहरु सबैले गल्ति गरेकाले अब सबै मिलेर अर्थतन्त्र सुधार गर्नुपर्ने बताए ।
अध्यक्ष गोल्यानले सरकारले अर्थतन्त्र सुधार गर्नको लागि साना मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने औल्याए । उनले नेपालको मौलिक अल्लो अहिले गोरु बाध्न प्रयोग भएको भन्दै त्यसलाई प्रशोधन गरेर निर्यात गर्न सके मात्रै अर्बौको विदेशी मुद्रा नेपालमा आउने बताए । उनले सिबिफिनले नेपालका १० मौलिक वस्तुको उत्पादन र निर्यात गर्नसक्ने सम्भावनाको अध्ययन गर्ने तयारी गरेको बताए ।