अप्पर सोलु हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

यस्तो छ कम्पनीको वित्तीय अवस्था

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य
कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पुँजी १ अर्ब ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता सेयर स्थानिय बासिन्दालाई र सर्वसाधारणलाई १४.५ प्रतिशत अर्थात १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता शेयर गरी कुल ३३ लाख ७ हजार ५०० कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

आईपीओ निष्काशन गरेर संकलन भएको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ कम्पनीले कम्पनीको विभिन्न दायित्व भुक्तानीमा प्रयोग गर्नेछ । कम्पनीको वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्ने र बैंकबाट लिएको ब्रिज ग्याप ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

३ वर्षमा सञ्चित नाफा साढे ४१ करोड पुर्याउने
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ४१ करोड ४१ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ८ करोड ३६ लाख ३५ हजार नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा भने १७ करोड ७८ लाख ५६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि कम्पनी ४ करोड ७ लाख ५२ हजार नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ६८ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ ३२ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ २१ पैसा रहेको थियो भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ २१ पैसा नोक्सानीमा रहेको थियो ।

पुँजी संरचना
आईपीओ निष्काशनपछि कम्पनी सेयर स्वामित्व संस्थापक ७५.५ प्रतिशत र सर्वसाधारणको २४.५ प्रतिशत कायम हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई १३ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ गरी ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स