काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा वाणिज्य बैंकलाई मर्जर जानको लागि शैदान्तिक स्वीकृति दिएकोे छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक र ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ (बिओके) एक आपसमा मर्जमा जानलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।
मेगा बैंक र इन्भेष्टमेन्ट बैंकले जेठ २७ गते मर्जमा जाने सम्झौता गरेका थिए भने ग्लोबल आईएमई बैंक र बिओकेले असार २ गते मर्जमा जाने सम्झौता गरेका थिए ।
सम्झौताअनुसार मेगा र नेपाल इन्भेष्टमेन्ट मर्जर पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने ग्लोबल र बैंक अफ काठमाण्डूको नाम ग्लोबल आइएमई बिओके लिमिटेड रहने छ ।
३२ अर्बको बैंक बन्छ ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’
मेगा र नेपाल इन्भेष्टमेन्ट मर्जर पछि अध्यक्ष र सीईओमा इन्भेष्टमेन्ट कै अध्यक्ष र सीईओ रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन् । त्यस्तै १००ः९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ ।
मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताइएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ ।
५२ अर्ब ३४ करोडको बैंक बन्ने
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्जरपछि बन्ने ‘ग्लोबल आइएमई बिओके लिमिटेड’ मा सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।
ग्लोबल आइएमई बैंकले बिओकेसँग १स्१ को स्वाप रेसियोमा मर्जरको सम्झौता गरेको हो । ग्लोबल आइएमई बिओके बैंकको नामका एकिकृत कारोबार गर्दा कुल पुँजी ५२ अर्ब र ३४ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक हुने छ ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।