आज धान दिवस, मानो खाएर मुरी उब्जाउने दिन, आत्मनिर्भर बन्ने प्रयास जारी

काठमाडौं । नेपालमा हरेक वर्षको असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइने प्रचलन छ । आज पनि यसरी नै मनाइँदैछ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । मानो खाएर मुरी फलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिएको छ ।

वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाइ कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

साथै असार १५ लाई दही चिउरा खाने दिन भनेर पनि चिनिन्छ । खाद्यान्न बालीहरुमा धानलाई मुख्य बालीको रुपमा लिइन्छ । नेपालीको मुख्य पोषण र सबैको घरमा एक छाक पनि नछुटाइ खाने अन्न सायद चामल नै हो । तर विडम्वना हरेक वर्ष पहाडमा धान खेत जङगलमा परिवर्तन भएका छन् भने तराईमा प्लटिङ भई कंक्रिटको भवनहरू ठडिन थालेका छन् ।

कृषि प्रधान देशमा हरेक वर्ष अर्बौको धान आयात गर्नुपर्ने नियति बनेको छ ।
केन्द्रिय विभागको तंथ्याक अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) को २७ प्रतिशत कृषिको योगदान गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले रु दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व संकलन गरेको छ । भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।

त्यस्तै मुलुकमा १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व संकलन गरेको छ । त्यस्तै धानको बीउमात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ । १६ अर्बको मकै आयात भएको छ भने ५ अर्ब मूल्य बराबराको गहुँ आयात भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स