कर्मचारी सञ्चयकोषले सञ्चित रकम र ऋण दुबैमा साढे १ प्रतिशतले बढायो ब्याज

काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरी कोषले बचत र ऋण दुबैको ब्याजदर १.५ प्रतिशत विन्दुले बढाएको हो । सञ्चय कोषको सञ्चालक समितिले ब्याजदर वृद्धिको प्रस्ताव पारित गरेको हो । अव कोषका सञ्चयकर्ता बचतमा ८ प्रतिशत ब्याज पाउने भएका छन् । यसअघि कोषमा सञ्चित गर्नेले साढे ६ प्रतिशत ब्याज पाउँदै आएका थिए ।

कोषले आर्थिक तथा प्रशासन प्रमुख तथा सीए ठाकुरजंग थापाको संयोजकत्वमा ब्याजदर पुनरावलोकन समिति गठन गरेको थियो । सो समितिले ब्याज बढाउन सिफारिस गरेपछि कोष सञ्चालक समितिले नयाँ ब्याजदर पारित गरेको हो ।

त्यस्तै सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत विन्दुले बढेर ९.१ प्रतिशत पुगेको छ । सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटी कर्जा लिँदा ९.७५ प्रतिशत ब्याज तिनुपर्ने कोषले जानकारी दिएको छ । जलविद्युतलगायत विभिन्न परियोजनामा प्रवाह हुने कर्जाको ब्याजदर ९.७५ प्रतिशत छ ।

कोषले जग्गा खरिद र सरल चक्रकर्जामा १०.२५ प्रतिशत कायम गरेको छ । धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धित त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशतले छुट (रिवेट) दिने कोषले योजना पनि कोषको रहेको छ ।

सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ । कोषको बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड) १.१ प्रतिशत रहेको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो ।

निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक र निजी व्यावसायिक प्रतिष्ठानलगायत गरी कर्मचारी सञ्चयकोषमा ६ लाख बढी सञ्चय कोषमा आवद्ध छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स