१ वर्षमा साढे १४ अर्बले घट्यो हायर पर्चेज लोन

काठमाडौं । कोभिडका कारण आम नागरिकको आयस्रोत घटेपछि यसको असर हायर पर्चेज कर्जामा देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्म बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन गरिद गर्नको लागि १ खर्ब ६० अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा १ खर्ब ७४ अर्ब ५ करोड थियो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को दोस्रो चौमासपछि नेपाल पनि कोरोना भाइरसको जोखिम देखिएपछि घट्न थालेको कर्जा गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा १४ अर्ब ६० करोड रुपैयाँले घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि नै घट्न थालेको सवारी साधन कर्जा पछिल्लो वर्ष अझ घटेको हो । गएको आवमा विद्युतीय सवारी साधनमा सरकारले लगाएको करका कारण गाडी महँगो भएको, कोभिड महामारीका कारण आम उपभोक्ताको आयस्रोत घट्दा यसको असर सवारी साधन खरिदमा परेको हो ।

सहज परिस्थिति भएको भए आम नागरिकले बैंकबाट कर्जा लिएर भएपननि सवारी साधन खरिद गर्ने गर्थे । तर, व्यापार व्यवसायमा आएको शिथिलताका कारण बैंकसँग लोन लिएर सवारी साधन खरिद गर्ने घटेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ महिनाको भन्दा पनि असार महिनामा सवारी साधन खरिदका लागि कर्जा लिने घटेको देखिएको छ । असारमा आउँदा बैंक तथा वित्तीय क्षेत्रले प्रवाह गरेको हायर पर्चेज कर्जा ३ अर्ब ८२ करोड रुपैयाँले घटेको छ । २०७८ जेठमा यस्तो कर्जा १ खर्ब ६४ अर्ब ४७ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिद गर्नका लागि ग्राहकले ३५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था गरेको छ ।
५ वर्षमा यस्तो छ हायर पर्चेजमा वित्तीय क्षेत्रले लगानी

विगत ५ वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेजमा कुल ८ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो वित्तीय क्षेत्रको हायर पर्चेजमा लागनी

आव                                                     कर्जा प्रवाह
२०७७/७८                                           १ खर्ब ६० अर्ब ६५ करोड
२०७६/७७                                           १ खर्ब ७४ अर्ब ५ करोड
२०७५/७६                                           १ खर्ब ८० अर्ब ९५ करोड
२०७४/७५                                           १ खर्ब ७१ अर्ब ५ करोड
२०७३/७४                                           १ खर्ब ५० अर्ब ४० करोड
स्रोतः नेपाल राष्ट्र बैंक

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स