घडियाल प्रजनन केन्द्रमा गोहीका ५६३ अण्डाबाट ४९६ बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।

नारायणी र राप्ती नदी किनारमा संकलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा संकलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा संकलन गरिएको हो ।

असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । संकलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताए ।

राप्ती नदीमा छ वटा र नारायणीमा पाँच वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उनले जानकारी दिए । पौडेलले भने, ‘एकीन तथ्यांक त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।’ प्रकृतिमा संकलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेलले बताए ।

गतवर्ष प्रकृतिमा संकलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाइमा यसवर्ष पनि ७÷८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ ।

प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् ।

राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा संकलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।

हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उनले बताए । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको सङ्ख्या घट्दै गएको आचार्यको भनाइ छ । उनले भने, ‘हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको सङ्ख्या बढाउन सकिन्छ ।’

नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ । अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०÷२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स