तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दालाई १ लाख ६० हजार कित्ता सेयर

त्रिशूली । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले १ लाख ६० हजार कित्ता सेयर पाउने भएका छन् ।

कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी सेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो । दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले १ लाख ६० हजार कित्ता सेयर पाउने भएपछि विरोधका कार्यक्रम स्थगित गरेका छन् ।
चार दशमलव नौ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी– ४ र पञ्चकन्या– ४ का जनतालाई असर पर्ने देखिएको छ ।

ती गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता रु १०० का दरले १ लाख ६० हजार कित्ता सेयर दिन लिखित सहमति जनाएको थियो ।

सहमति पछि ११ सदस्य ‘सहजीकरण समिति’ समेत गठन गरिएको समितिका सदस्य दुप्चेश्वर–६ का राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस समितिले अति असर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले सेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ ।

एकै कम्पनीको दोहोरो सेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपिओ उनीहरूलाई नभर्न आग्रह गरिएको तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स