खाना पकाउने र व्यापारिक प्रयोजनको लागि ग्यासमा दोहोरो मूल्य कायम गर्दै निगम

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने भएको छ । निगमले असार महिनामै व्यापारिक प्रयोजन र घरायसी प्रयोजनको लागि छुट्टा छुट्टै मूल्य कायम गर्ने तयारी गरेको हो ।

केहि समय अगाडि निगमले ग्यासको दोहोरो मूल्य कायम गर्ने सम्बन्धमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन आएपछि खाना पकाउने ग्यासको दोहोरो मूल्य कायम गरिने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए । उक्त अध्ययन समितिले असार मसान्त अगावै प्रतिवेदन बुझाउने बुझिएको छ ।

निगमले सिलिण्डरको आकार, रंग, ग्यास गन्धको आधारमा व्यापारिक प्रयोजन र घरायसी प्रयोजन छुट्याएर मूल्य निर्धारण गर्नेछ ।

सोही अनुसार नयाँ मूल्य कायम हुने थानीको भनाइ छ । ग्यासमा दोहोरो मूल्य निर्धारण गर्दा घरायसी प्रयोजनका ग्यास सस्तो पर्न सक्ने उनको अनुमान छ । अहिले निगमले घरायसी होस् या व्यापारिक प्रयोजनका लागि खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ तोकेको छ ।

सञ्चालक समितिले लगेको प्रस्तावमा प्रधानमन्त्री र मन्त्रीले स्वीकृति दिएपछि समितिमा केही असहमतिका बाबजुद इन्धनमा उच्च मूल्यवृद्धि भएको छ । निगम सञ्चालक समिति अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेय र निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले प्रधानमन्त्री देउवा र मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रस्ताव भन्दै सञ्चालक समितिको बैठकमा दबाव सिर्जना गरेको सञ्चालक समिति स्रोत बताउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स