काठमाडौं । सेयर बजारका लगानीकर्ताले नेपाल राष्ट्र बैंकमा ज्ञापन पत्र बुझाएका छन् । आइतबार राष्ट्र बैंक बालुवाटार घेराउ गर्न पुगेका आन्दोलनरत लगानीकर्ताले बैंकका प्रवक्ता गुणाकर भट्टलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता तिलक कोइराला असार १ गतेदेखि आमरण अनसनमा बसेका छन् ।
अनसन बसेको ५ दिन हुँदा पनि नियामक निकायले सुनुवाई नगरेको भन्दै आक्रोशित लगानीकर्ताले विभिन्न किसिमका अन्दोलनका कार्यक्रम गर्दै आएका छन् । कोइरालाको अनसन र १९ बुँदै मागमा अधिकांश लगानीकर्ताहरुको छाता संगठनको सहयोग रहेको छ ।
१९ बुँदे मागमा विगतमा एमाले सरकारले साढे ३ वर्ष अघि नै सम्पन्न गर्छु भनेका र वर्तमान अर्थमन्त्रीले २ महिना अघि गरिसक्छु भनेर प्रतिबद्धता गरेका ५८ बुँदाँमध्ये बाँकी काम तत्काल पूरा हुनैपर्ने, वाणिज्य बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स, गैरआवासीय नेपालीहरुलाई पुँजी बजारमा भित्र्याउने लगायतका माग राखेका छन् ।