काठमाडौं । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै २० रूपैयाँले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ ।
चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक संघ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी संघका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिए । चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उनले जानकारी दिए ।
छलफलमा चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गराएको महानिर्देशक शर्माले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको संघले जनाएको छ । संघले उद्योगबाटै प्रतिकिलो ९३.८३ रूपैयाँमा चिनी बिक्री गर्ने गरेको छ ।
‘उद्योगमै चिनीको मूल्य बढेको छ, उद्योग हुँदै होलसेल तथा खुद्रा पसलमा चिनी पुग्दा मूल्य बढी हाल्छ, अहिले चिनीको मूल्य बढ्नु स्वभाविक हो’, उनले भने ।
भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको थियो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै २० रूपैयाँले बढाएका छन् । यसअघि प्रतिकिलो ९० रूपैयाँमा पाइने चिनी भारतको प्रतिबन्धपश्चात ११० रूपैयाँ पुगेको छ ।
चिनीको अभाव हुँदैन : संघ
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक संघले जनाएको छ । चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको संघको जनाएकोे छ ।
चिनी उत्पादक संघको तथ्यांकनुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकामा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ । नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन् । स्वदेशी उद्योगले मात्रै वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेकाले भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने संघले जनाएको छ ।
संघको तथ्यांकनुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् । स्वदेशी चिनी उत्पादनसँगै चालु आर्थिक वर्षको १० महिनामा नेपालले विभिन्न देशबाट चार अर्ब ८३ करोडभन्दा बढीको चिनी आयात गरेको छ ।