काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा बिहीबार साँझसम्ममा १३ लाख बढी आवेदन दिएका छन् । बिहीबार साँझ पाँच बजेसम्ममा १३ लाख ८ हजार ५४४ जना आवेदकले १ करोड ७५ लाख ३ हजार ९५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका हुन् । बिहीबार साँझसम्म पौने २ अर्बभन्दा बढीको आईपीओ परेको हो ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको सेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुने बिक्री एनआईविएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा आवेदन दिन चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो सेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।