१० महिनामा भित्रियो ८ खर्ब ११ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रेमिट्यान्स आप्रवाहमा सामान्य सुधार भएको छ । पछिल्ला दिनमा विदेशीको मुद्राको सञ्चितिमा दबाव परिरहेको बेला रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले सकारात्मक सन्देश प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको आर्थिक विवरणअनुसार रेमिट्यान्स आप्रवाहमा ०.२ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार वैशाख मसान्तसम्म ८ खर्ब ११ अर्ब ७९ करोड बराबरको रेमिट्यान्स आप्रवाह भएको छ ।

सरकारले रेमिट्यान्स पठाउनेलाई विशेष सुविधाका कार्यक्रम सार्वजनिक गरेपछि सकारात्मक प्रभाव पर्न थालेको हो । सरकारले रेमिट्यान्स पठाउनेलाई साधारण सेयरमा कोटा लागू गर्नेलगायतका केही नीतिगत निर्णय गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५४ प्रतिशतले घटेको थियो ।

सो अवधिमा खुद ट्रान्सफर ०.०१ प्रतिशतले वृद्धि भई नौ खर्ब तीन अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स