काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको पुँजी वृद्धि गर्ने भएको छ । निरिक्षण तथा सुपरिवेक्षणका क्रममा कमजोर देखिएका विप्रेषण सम्बन्धि कारोबार गर्ने कम्पनीहरुलाई राष्ट्र बैंकले पुँजी थप गर्न लगाउने भएको हो ।
गैर–बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले जारी गरेको उक्त विनियमावली राष्ट्र बैंक सञ्चालक समितिको जेठ १८ गतेको बैठकबाट स्वीकृत गरेको हो । राष्ट्र बैंकले विप्रेषण कारोबार निरिक्षण तथा सुपरिवेक्षण विनियामावली, २०७९ जारी गर्दै निरीक्षण प्रतिवेदनको आधारमा सुधारात्मक प्रक्रिया अघि बढाउन कम्पनीहरूको पुँजी थप गर्न लगाउने व्यवस्था गरेको हो ।
उक्त विनियमावलीको परिच्छेद ५ अन्तरगत सुधारात्मक प्रक्रिया सम्बन्धी व्यवस्थामा राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन, परिपत्रको पालना गराउने र संस्थागत सुशासन कायम गर्ने, पुँजी थप गर्न लगाउने, संस्था सुधारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका असल अभ्यास प्रयोग गर्न भनिएको छ ।
विधिको अवलम्बन गर्न लगाउने र सम्बन्धित विप्रेषकका पदाधिकारी, लेखापरीक्षक तथा सम्बन्धित सरोकारवालासँग आवश्यकता अनुसार छलफल गर्ने, लिखित वा मौखिक जानकारी लिने र अन्य सूचना जानकारी प्राप्त गर्ने उल्लेख छ ।
हाल राष्ट्र बैंकबाट अनुमति लिएर ४२ वटा विप्रेषण सम्बन्धी कारोबार गर्ने कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुको पुँजी कारोबार र सेवाको आधारमा राष्ट्र बैंकले २ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी तोकेको छ ।