काठमाडौं । देशमा सञ्चालित बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको बैशाखसम्म कुल १ खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको बैशाखमसान्तसम्म बीमा कम्पनीहरूले कुल १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । बीमा कम्पनीहरूले हाल गरेको व्यवसाय गत आवको सोही अवधिकोभन्दा १.३१ प्रतिशतले बढी हो ।
कम्पनीहरूले चालुु आवमा गरेको व्यवसायमध्ये जीवन बीमा कम्पनीहरूले १ खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए भने निर्जीवन बीमा कम्पनीले २४ अर्ब ६२ करोड रुपैयाँको व्यवसाय गरेका थिए ।
नेपाल लाइफले २८ अर्ब ३५ करोड ८० लाख रूपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । कुल जीवन बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा २५.६९ प्रतिशत हो । लाइफ इन्स्योरेन्स कम्पनीले १३ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।
निर्जीवन बीमा कम्पनीतर्फ नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्सले कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये एलआईसी नेपाल र गुराँस लाइफबाहेक अन्य सबै कम्पनीको व्यवसाय बढेको छ । गत आवको यसै अवधिको तुलनामा गुराँस लाइफ इन्स्योरेन्सका व्यवसाय १८.८९ प्रतिशत र एलआईसी नेपालको व्यवसाय ५.२८ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा पुराना बीमा कम्पनीकोभन्दा नयाँ कम्पनीको व्यवसाय वृद्धिदर उच्च देखिएको छ । सबैभन्दा धेरै बीमाशुल्क वृद्धि गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ८०.३५ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ४४ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८१ करोड रूपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेको थियो ।
महालक्ष्मी लाइफ, सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफको बीमाशुल्क उल्लेख्य बढेको बीमा समितिको तथ्यांकमा उल्लेख गरिएको छ ।