७ वर्षदेखि पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको बागमती तीनकुने पुल, नयाँ टेन्डरबाट फेरि बनाउने तयारी अघि बढ्यो

काठमाडौं । काठमाडौं तीनकुनेको बागमती पुल निर्माणका लागि फेरि ठेक्का लाग्ने भएको छ । सडक विभाग काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्स्ट्रक्सनले ७ वर्षदेखि निर्माणको जिम्मा पाएर अलपत्र पारेको तीनकुने बागमती पुलको फेरि ठेक्का निकालेको हो ।

आयोजनाले डिजाइ एण्ड बिल्ड मोडलमा बागमती पुल निर्माणका लागि साउन १४ गते टेन्डर आह्वान गरेको छ । भदौ १३ गते टेन्डर प्रस्ताव खोलिन आयोजनका सूचना अधिकारी अशोककुमार यादवले हाम्रोअर्थलाई जानकारी दिए ।

आयोजनाले २०७१ साल पुसमा तीनकुनेको बागमती पुलमा नेटवर्क आर्क ब्रिज निर्माण गर्नेगरी ठेक्का लगाइएको हो । डिजाइन एन्ड बिल्ड मोडालिटी निर्माण व्यवसायीले नै डिजाइन र निर्माण गर्नेगरी ठेक्का लगाइएको थियो । बागमती पुलको डिजाइन र निर्माण गर्न २१ करोड ३३ हजार रुपैयाँमा पप्पु कन्स्ट्रक्सले ठेक्का हात पारेको थियो ।

डिजाइन अनुसार ठेकेदार कम्पनीले काम नगरेको भन्दै आयोजनाले निर्माण प्रक्रिया रोक्न आग्रह गरेको थियो । तर निर्माण व्यवसायीले जर्बजस्ती निर्माण अघि बढाएको थियो । ठेकेदारको हेपाहा प्रवृत्ति र डिजाइनअनुसार निर्माण अघि नबढाएको, काममा लापर्बाही गरेकाले बागमती पुलको ठेक्का २०७६ मंसिरमा तोडिएको थियो ।

माइतीघर-कोटेश्वर खण्ड ८ लेनमा विस्तार भइसकेको छ । पुललाई पनि सडकको क्षमता अनुसार विस्तार गर्ने उद्देश्यले आयोजनाले ठेक्का लगाएको थियो । सडकको तुलनामा पुलको चौडा साँघुरो हुँदा सवारी दुर्घटना तथा जाम बढ्ने गरेको छ ।

तर निर्माण व्यवसायीले मनमानी हिसाबले निर्माण गर्दा ठेक्का तोडिएको सूचना अधिकारी यादवले बताए ।

साथै पप्पु कन्स्ट्रक्सनले धरौती बापत राखेको (पर्फमेन्स बन्ड) एक करोड ५ लाख रुपैयाँ पनि जफल गरिसकिएको छ । आयोजनाले धरौटी रकम जफत गर्ने गरी ठेक्का तोड्ने प्रक्रिया अघि बढाएसँगै ठेकेदार अदालत गएको थियो । अदालतले आयोजनको पक्षमा निणर्य गरेसँगै पुल निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

ठेकेदारले २५ प्रतिशत काम सम्पन्न गरेको दावीसहित तीन करोड ८६ लाख १६ हजार रुपैयाँ भुक्तानी बुझिसकेको छ । पप्पुले अलपत्र छोडेको कामबाटै निर्माण कार्य अघि बढाउनेगरी आयोजनाले ठेक्का प्रक्रिया अघि बढाउन खोजेको छ ।

पप्पुको लापरबाही यस्तो थियो
आयोजना र पप्पु कन्ट्रक्सनबीच वागमतीको दायाँ र बायाँ ८६ मिटर लामो पुल निर्माण गर्ने सम्झौता भएको थियो । १६ वटा २९.५ मिटरको पायल्स निर्माण गरेर पुल बनाउनुपर्ने डिजाइनमा उल्लेख थियो । तर, एउटा पायल्स १४.५ मिटरको मात्र र दुईवटा पायल्स चर्किएको भेटिएपछि आयोजनाले तत्काल काम रोक्न निर्देशन दिएको थियो ।

तर, ठेकेदारले जबरजस्ती क्याब, सबस्ट्रक्चर र स्ट्रक्चरको काम अघि बढाएको थियो । आयोजनाले बारम्बार काम रोक्न निर्देशन दिँदा पनि अटेर गरेकाले सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ फागुन ५ गतेदेखि २०७९ फागुन ४ गतेसम्मका लागि कालोसूचीमा राखिसकेको छ । कार्यालयले बागमती पुलमा लापर्बाही र ढिला सुस्ती गरेको आरोपमा पप्पुलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

धोविखोला पुल निर्माण सम्पन्न
अरनिको राजमार्ग अन्तर्गतको माइतीघर–तीनकुने सडक खण्ड ८ लेनको छ । सडक चौडा भए पनि यो सडक खण्डमा पर्ने दुई नदी वागमती र धोविखोलाका पुल साँघुरा थिए । चौडा सडक अनुरूप पुल निर्माण गर्ने योजना अनुरुप सडक विभाग काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दुई स्थानमा नयाँ प्रविधिको नेटवर्क आर्क ब्रिज निर्माण गर्ने योजना अघि बढायो ।

सोही योजनाअनुरूप आयोजनाले २०७१ साल पुसमा बिजुली बजारको धोवीखोला र तीनकुनेको वागमती पुलमा नेटवर्क आर्क ब्रिज निर्माण गर्न ठेक्का लगाएको थियो ।

धोवीखोलामा पुल निर्माण गर्न जेई कन्स्ट्रक्सनले १२ करोड ८१ लाख ४८ हजार रुपैयाँ ठेक्का पाएको थियो । धोवीखोला पुल निर्माण भई सवारीसाधन गुड्न शुरु गरिसकेको छ । यो पुलमा ५ वर्षको डिफोल्ट लायाबिलिटी पिरियड (डीएलएफ) (मर्मत सम्भार गर्नुपर्ने अवधि) रहेको छ । २०७७ असारदेखि डीएलएफ शुरु भइसकेको छ । २०८२ असारसम्म पुलमा कुनै समस्या देखिएमा निर्माण व्यवसायीकै खर्चमा पुल मर्मत गर्नुपर्छ ।

नेटवर्क आर्क
‘नेटवर्क आर्क’ पुल नेपालका लागि नौलो प्रविधि हो । आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि फरक हुन्छ । नेपालमा प्रयोगमा रहेका पुल पिलरमाथि निर्माण भएका छन्। नेटवर्क आर्कमा पिलर हुँदैन ।

पिलर नहुनाले पनि ‘अब्युटमेन्ट’का आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिन्छ । र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ । आर्कलाई पनि क्रस ढलान गरेर जोडिन्छ । र, केबल प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार केवल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले थेग्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स