फेरि बढ्न थाल्यो डरलको मूल्य, रूपैयाँको तुलनामा डलर हालसम्मकै महँगो

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । आज कायम भएको अमेरिकी डलरको मूल्य हालसम्म कै महँगो मूल्य हो । अव एक अमेरिकी डलरको लागि नेपालीले १२४.६८ रुपैयाँ खर्चनु पर्ने भएको छ ।

भारतीय रुपैयाँ कमजोर हुँदा डलरका खरिदका लागि नेपालीले बढी मूल्य तिर्नुपर्ने भएको हो । किनकी नेपाली रुपैयाँ र भारतीय रुपैयाँ (भारु) स्थिर विनियम दर छ । स्थिर दरका कारण भारु कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पनि पर्ने गरेको छ । पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो ।

स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ त्यसको प्रत्यक्ष अस नेपाली रुपैयाँमा पर्ने गरेको हो ।

यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा सामान्य कमी भएकोपनि पछिल्ला दिनमा डलरको भाउ माथि उक्लने क्रम बढ्दै थियो । सोही क्रममा बिहीबार डलरको मूल्य नयाँ उचाइमा पुगेको हो ।

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ । डलरको भाउ बढेको समयमा विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउने गरेको पाइन्छ । निर्यातबाट फाइदा हुने भएपनि नेपालले आयातको तुलनामा त्यति ठूलो निर्यात गर्न सकेको छैन ।

सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातवापतको भुक्तानीमा पर्ने देखिएको छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ ।

विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायत जानेहरूको लागत महँगो पर्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स