काठमाडौं । सिटिजन्स बैंक इनेटरनेशनलले भुक्तानी सेवा प्रदायक फोकसवानसँग सम्झौता गरेको छ । बैंकले फोकसवानसँग कार्डमा आधारित स्क्यान टू पे र क्यूआर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हो ।
उक्त सेवा संचालनमा आएसँगै बैंकका कार्ड वाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिटरक्रेडिट कार्डहरु लिंक गरी सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन ।
यसैगरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमवाट भुक्तानी समेत गर्न सक्नेछन ।
सिटिजन्स बैंक लगायतका विभिन्न बैंकहरुद्वारा प्रवर्धित नेपाल पेमेन्ट सोलुसन (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको जनाएको छ ।