काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । भारतीय आयल निगम(आईओसी) ले सोमबार पेट्रोलको मूल्य बढाएर पठाएको छ । आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसारको नयाँ मूल्य सूची पठाउने गरेको छ ।
नेपालमा पेट्रोलको मूल्य बढाएको दुई दिन नबित्दै आईओसीले प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ बढाएर नयाँ मूल्य पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । मट्टितेल र एलपीजी ग्याँसको मूल्य भने अहिलेको मूल्य सूचीमा नबढेको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपालले नेपालमा पनि तेलको मूल्य बढेर आएको हो । आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर नयाँ मूल्यसूची आएको छ ।
नेपाल आयल निगमले स्थानीय चुनाव लगत्तै मात्र पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँको दरले मूल्य वृद्धि गरेर पेट्रोल १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पु¥याएको थियो। बढेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पनि १५ दिनमा झन्डै सवा ४ अर्ब रुपैयाँ घाटा रहेकोमा आज सोमबार बढेर आएको मूल्यले निगमको घाटा बढाएर ४ अर्ब ४९ करोड पुग्ने देखिएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
अहिलेको नयाँ मूल्यमा बेच्नमा पनि पेट्रोलमा १४ रुपैयाँ, डिजेलमा ३१ रुपैयाँ, मट्टितेलमा १२, हवाई इन्धनमा १२ रुपैयाँ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर १ हजार ५० रुपैयाँ घाटा रहेको छ । बढेको मूल्यले निगमको घाटा अझ बढाउने निश्चित भएको छ ।
पेट्रोलियम पदार्थमा धान्नै नसक्ने मूल्यवृद्धि भएपछि सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थको दुई थरि मूल्य कायम गर्ने तयारी गरिरहेको छ । निश्चित कोटासम्म सहुलियत मूल्यमा पेट्रोल तथा ग्यास उपलब्ध गराएर त्यसभन्दा माथि भने स्वचालित मूल्य प्रणालीअनुसार मूलय कायम गर्ने बुझिएको छ । अर्थमन्त्री जनार्दन शर्माले पनि चैत अन्तिम साता नै परल मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न निर्देशन दिइसकेका छन् ।
यद्यपि आम नागरिकलाई रिझाउने गरी ल्याउन लागिएको बजेटमा निश्चित कोटासम्म सहुलियत दरमा पेट्रोल तथा ग्यास उपलब्ध गराउनेमा सरकार प्रतिवद्ध रहेको अर्थ स्रोतले जानकारी दिएको छ । परल मूल्यमै बेच्दा ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ, पेट्रोल र डिजेलको मूल्य १९३ रुपैयाँ बराबर हुनेछ ।