४५ करोडले घट्यो टेलिकमको नाफा, यस्तो छन् ६ कारण

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको तृतीय त्रैमासिकको वित्तीय विवरण अनुसार खुद मुनाफा अघिल्ला आवको यही अवधिको तुलनामा ४४ करोड रुपैयाँले घटेको हो । ।

गत आ.व. को चैत्र मसान्त सम्मको खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि मा ४४ करोड ९१ लाख २५ हजारले कमी भई ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रहेको छ । यो ७.६३ प्रतिशतको गिरावट हो ।

त्यस्तै गत आ.व. को तृतीय त्रैमासिक अवधि चैत्र सम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि चैत्र मसान्त सम्ममा ७६ करोड ८२ लाख ५९ हजार (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेको छ ।

गत आ.व. को तृतीय त्रैमासिक अवधि चैत्र मसान्त सम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि चैत्र मसान्त सम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको छ।

कम्पनीले ६ कारणले कम्पनीको नाफा घटेको जनाएको छ ।

१. कोभिड-१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी ।

२. २०७८ माघ महिनामा कोभिड-१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको ।

३. अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्वता शुल्क (ट्यारिफ) मा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको ।

४. सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।

५. कोभिड-१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको ।

६. कोभिड-१९ को महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स