बैंकिङ कसुरमा ३७ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसुरमा काठमाडौं महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डंगोललाई पक्राउ गरेको हो । उनले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए ।

उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनी विरुद्ध मुद्दा परेको थियो ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डंगोललाई ७ दिन कैद र ३६ लाख ७५ हजार जरिवाना हुने ठहर गरेको थियो ।

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स