काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सार्वजनिक सवारी साधन नचल्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा पासबिना सवारी साधन चलाउन नदिने भएको हो ।
आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।
बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउने छन् ।
सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडौंको हकमा निर्वाचन आयोगमा एकीकृत डेस्क खडा गरिने भएको छ ।
अतिआवश्यक सवारी साधन सञ्चालनका लागि यही बैशाख २८ गतेसम्म निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमति लिनुपर्ने छैन ।
आयोगले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ।
शारीरिक अपांगता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।
यस्तो छ मापदण्ड :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/nirbachan-mapdhanda.pdf” cache=”off”]