काठमाडौं । किसान कार्ड यो ग्रामीण क्षेत्रका महिला किसानहरूलाई ध्यानमा राखेर सुरु गरिएको हो । अहिलेको सामाजिक संरचना कस्तो भयो भने अंधिकाश पुरुषहरू विदेश जाने मात्रै देखिएको छ । महिलाहरू घरमा बस्ने गरेका छन् ।
श्रीमान् वा परिवारका कुनै सदस्य विदेशमा गएर पैसा कमाउने र रेमिट्यान्सका रुपमा आ–आफ्नो परिवारलाई पैसा पठाउने गरेका छन् । यसरी पठाएको रेमिट्यान्स रिसिभ गर्न जाँदा लागत खर्च धेरै लाग्ने देखियो । रेमिट्यान्स झिक्न जान समेत बासै बस्न पर्ने परिस्थिति देखिएपछि कृषि विकास बैंकले अध्ययन गरेर ग्रामीण भेगमा बसोबास गर्दै आएका कृषक महिलालाई ध्यानमा राखेर यो कार्ड जारी गरेको हो ।
घरको व्यवस्थापन र पैसा निकाल्न आउँजाउँ गर्दा लाग्ने समय, गाडी भाडा, खाजा खर्च, घरको काम छोडेर हिड्नु पर्ने यी बाध्यताका कारण ग्रामीण क्षेत्रका जनताले निकै दुःख पाएको र खर्चिलो भइरहेको हामीले देखिरहेका थियौँ । १० हजारको रेमिट्यान्स लिनलाई त्यसको आधा पैसा आवतजावत खर्च हुने देखियो ।
कृषि विकास बैंकको स्लोगान नै ‘तपाई हाम्रो घर आँगनको बैंक कृषि विकास बैंक’ भनेका छौं । हामी घर आँगन पुग्न सके पनि यो ग्याप चाहिँ थियो । अहिले पनि कृषि विकास बैंकको कृषिमा लगानी हेर्ने हो भने अत्यन्त धेरै छ । कृषि विकास बैंक कृषि क्षेत्रमा अलि अगाडि हुनु स्वभाविकै हो । त्यसका अलवा अन्य सामाजिक क्षेत्रमा पनि हात हालेका छौं । कृषि विकास बैकले यो अप्ठ्यारोलाई सहजीकरण गर्न किसान कार्ड ल्यायौ भने यसको साथसाथै मोबाइल एप्स पनि बनायौ ।
कृषि कर्जा लिनेहरूलाई फोकस गरेर कृषि कार्ड बनाइएको हो । सुरुमा जसले कृषि कर्जा लिएका छन् उनीहरुलाई बैंक आई रहन नपरोस् भनेर कार्ड वितरण गरिएको हो ।
यो कार्ड क्यूआर बेस कार्ड हो । चिप बेस कार्ड बनायो भने गाउँघरमा त्यो कार्ड चल्दैन । चिपमा आधारित कार्ड गाउँघरमा एटीम मेसिन नहुने भएकाले कार्ड चाहिँ क्यू.आर बेसमा बनाएका छौँ । एम्पस डिभाइस हामी गाउँ गाउँमा लगेर दिन्छौं । अहिले अनलाइन खाता खोल्ने व्यवस्था गरेको छ ।
मोबाइल र एम्पस डिभाइसबाट कारोबार स्क्यान गर्न मिल्छ । जसले कर्जा लिएका छन् अथवा जसको खातामा पैसा छ, उनीहरुले कार्डको सुविधा लिन पाउँछन् । गाउँ घरको एउटा ठाउँमा बसेर पैसा निकाल्न सकिने व्यवस्था हामीले मिलाएका छौ ।
दुध सङकलन केन्द्र, तरकारी मण्डी, बिउ बिषादी जस्ता ठाउँलाई हामीले मर्चेन्ट भनेर छुट्याकाछौ । कार्ड भएका व्यक्तिले सजिलै मर्चेन्टसँग कार्डबाट पैसाको कारोबार गर्न सक्छन् । हाम्रो विशेष प्राथमिकतामा महिलाहरू पर्छन् । महिलालाई प्राथमिकता दिनुको कारण के भने घरको काम सबै महिलाले गर्नु पर्ने र अन्तिममा दुधको क्यान अथवा तरकारी बोकेर पुरुष जाने र खाली हात घर फर्कने कहिकतै देखेका छौ ।
कार्ड स्क्यान गरेपछि महिलाको नाममा खाता खोले पछि सिधै उनीहरुको नाममा रहेको खातामा पैसा जाने भयो । तर, खाता महिला पुरुष दुबैले खोल्न मिल्छ ।
५४ औ बार्षिकोत्सवामा सुरु गरिएको कार्यक्रममा हामीले कार्ड कसरी प्रयोग गर्ने भनेर जनचेतनाका कार्यक्रम पनि गरेका थियौ । अहिले पनि गर्दै आएका छौं । अहिलेसम्म ८ हजार जति कार्डको वितरण भएको छ । गत वर्ष २०७८/७९ बजेटमा समेटिएको यो कार्यक्रम भएर नेपाल सरकारबाट अनूदान सहयोग पनि आएकोे छ ।
कार्ड वितरणसँगै कार्डको लोकप्रियता र माग अत्याधिक छ । बिचमा कोभिडको कारणले अलिकति ढिलासुस्ती भने भएको हो । एम्पस डिभाइसको कमी भएको हो । १४ हजार जनाले कृषि कार्डको लागि आवेदन फाराम भरेका छन् । ठूलै परिमाणमा एम्पस डिभाइस झन्डै सात सयवटा मगाएका छौँ ।
कारोबार क्षमता राष्ट्र बैंकको नियम अनुसार हुन्छ । २० हजार कार्ड प्रिन्ट गरेर राखिसकेको र एम्पस मेसिनको पखाइमा बसिरहेका छौँ । वित्तीय शिक्षा, विश्वासको अभाव जस्ता कुरामा जनचेतना फैलाउँदै हामी अघि बढिरहेका छौँ । वैदेशिक रोजगारीबाट फर्किए युवाहरूलाई निकै सहयोगी सावित भएको छ ।
के हो मोबाइल एप ?
मोबाइल एपको बारेमा कूरा गर्दा यो पनि अरु मोबाइल एप जस्तै हो । यसमा क्यूआर कोड हुन्छ । कार्डको अर्को विशेषता के छ, भने हामीले कृषि ज्ञान केन्द्र भनेर बनाएका छौँ । जसमा विभिन्न बालीनाली सम्बन्धी जानकारी पाउन सकिन्छ । जस्तै गोँलभेडा रोप्ने हो भने गोँलभेडा खेती सम्बन्धी सम्पूर्ण जानकारी, गोँलभेडा जस्ता पन्ध्रवटा बालीनाली समावेश गरिएको छ र छिट्टै ४५ वटा पुर्याउने हाम्रो योजना छ ।
यो एपबाट मौसम पूर्वअनुमानको जानकारी, टेक्निकल सहयोगको लागि कल सेन्टरको व्यवस्था, बालीनालीमा लागेको रोगको फोटोे खिचेर त्यसको समस्या बुझ्न सकिने, कुनै बालीनाली रोपेपछि नभित्राउँदासम्मको सम्पूर्ण जानकारी, एग्रोभेट, सप्लायर्सको आँकडा, नजिकैको होलसेल मार्केटका चल्ती मूल्य, चलिरहेको स्थान अनुसारको बजार भाउँ, इन्स्योरेन्सलगायतका जानकारी पाइन्छ ।
नेपाल सरकारबाट करिब १४ करोड जति सहयोग मिलेको यो परियोजनामा तालिम, अभिमूखीकरणको, हार्डवेयरको काम अनुदानबाटै भयो । ५ करोडजति हामीले बैंक स्रोतबाट प्रयोग गर्यौ ।
ग्रामीण क्षेत्रका महिलाहरूलाई वित्तीय र डिजिटल साक्षर बनाउँदै लैजान पक्कै पनि चुनौतीपूर्ण काम हो । बैंक नाफामुखी संस्था भए पनि हाम्रो स्रोत साधनले भ्याएसम्म हामीले यो सामाजिक उत्तरदायित्वको काम गर्ने छौँ ।