काठमाडौं । निरन्तर ओरालो लागेको पुँजी बजारमा आइतबार कारोबार बन्द हुँदा त्यसको असर सोमबार देखिएको छ । दुई दिनको कारोबारलाई जोडेर नेप्से ४८.७३ अंकले ओरोलो लागेको छ । सेयर बेचेर बसेका केहि ठूला लगानीकर्ताहरू सस्तोमा सेयर उठाउनको लागि तल्लो विन्दुमा ओराल्न लागिपरेको अवस्थामा नयाँ र कम अनुभवी लगानीकर्ताहरू आत्तिएर सस्तोमै सेयर बेचिरहेको देखिन्छ ।
बजार बढ्दाखेरी नियामक निकायहरू लड्डु बाड्न र केक काट्न व्यस्त देखिन्थे । तर, बजार निरन्तर घट्दा उनीहरू यस विषयलाई सम्बोधन गर्न उदासिन देखिन्छन् । केहि ब्रोकर र ठूला लगानीकर्ताको फन्दामा साना र कम अनुभवी लगानीकर्ता मारमा परेका छन् । यस्तो स्थितिमा पनि लगानी कर्ताका लागि भनेर खुलेका विभिन्न आधा दर्जन संघ सस्थाहरू छन्÷ छैनन् अत्तोपत्तो हुने गरी मौन बसेका छन् ।
यसको अर्थ संस्थाहरू संगठित रुपमै सेयर बेचेर तल्लो विन्दुमा खरिद गर्नका लागि कुरिरहेको भन्ने बुझिन्छ । लगानीकर्ताको नाम भजाएर आफ्नो पोटफोलियो अनुरुप नीति निर्माण तहमा लविङ गर्नेहरू कसरी लगानीकर्ताका हक, हितका संरक्षक हुन सक्छन् ?
आफ्नो लगानी अनरुप बजारलाई डोहोराउन उद्त्त उनीहरूदेखि तमाम लागनीकर्ता निराश देखिन्छन् । ३२२७ अंकबाट २३०७ अंकसम्म आइपुग्दा नेप्से परिसूचक ९२० अंकले घटेको छ । तर, पनि नियामक निकाय र लागनीकर्ताका संघ संस्थाहरू बजारमा लगानीकर्तालाई सान्वना दिनसम्म पनि तत्पर देखिदैनन् ।
नीतिगत रुपमा सुधारको अपेक्षामा बसेका लगानीकर्ताहरू नियामक निकायले नीतिगत रुपमा सुधार नगरिदिँदा अत्यन्त निराश भएर सस्तो मूल्यमा घाटा मै पनि सेयर बेच्न बाध्य छन् । अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्षबाट साना लगानीकर्ता मैत्री नीति नियम बनाउँछौं भनेर आश्वासन दिएपनि कुनै पनि नीति नियम नबन्दा ती आश्वासनहरू शब्दमात्रै सीमित छन् ।
धितोपत्र बोर्डको ५१ कम्पनीको लिष्ट र राष्ट्र बैंकको ४÷१२ को नीतिले सेयर बजारलाई निरन्तर ओरालो लाग्न विशेष भुमिका खेलेको देखिन्छ । तर, पनि सम्बन्धित निकाय आफ्ना त्रृटी कमजोरीलाई सच्याउन वा सुधार गर्न तत्परता नदेखाउनु नै सेयर बजार निरन्तर घट्नुको मुख्य कारण हो ।
नेप्से ३२२७ हुँदाखेरी लगानी गर्ने लगानीकर्ताले आफ्नो सम्पत्तिको ६०–६५ प्रतिशत हिस्सा गुमाइसकेका छन् भने नेप्से परिसूचक ११ सय विन्दुमा लगानी गर्ने लगानीकर्ताले नेप्से २३०७ विन्दुमा हुँदा पनि ६÷७ वटा कम्पनीले आफ्नो सावासम्म पनि उठाउन सकेका छैनन् ।
२०७३ सालमा नेप्से १८८१ हुँदा लगानी गरेका लगानीकर्ताले नेप्से २३०७ हुँदा २७÷२८ वटा कम्पनीले आफ्नो लगानीको सावा पनि कायम गर्न सकेका छैनन् भन्ने कुरा एक अनुभवी पुराना लगानीकर्ताले हाम्रोअर्थलाई बताए ।
नेप्से ११ सय विन्दुमा रहँदा १८७ वटा कम्पनीको कारोबार हुन्थ्यो । हाल नेप्से ३२ सय पुग्दा २३८ कम्पनीको कारोबार हुँदै आएकोमा अहिले २२८ वटा कम्पनीको निरन्तर कारोबार भइरहेको छ । सरकारी वा नियामक निकाय ११ सय विन्दुको नेप्से परिसूचक ३२ सय पुग्दा लगभग ३ गुणा वृद्धि भयो भन्छन् ।
त्यसै क्रममा करिब ४५÷४६ खर्ब पुँजीकरण भएको सेयर बजार हाल आएर ३२/३३ खर्बमा सीमित भएको छ । यो घटेको पुँजीकरण पनि राज्यकै नोक्सानी हो । तर, सम्बन्धित निकायहरू त्यो बुझ्न तयार छैनन् । देनिक २१ अर्बमाथि कारोबार भएको पुँजी बजारमा हाल आएर एक डेढ अर्बमा कारोबार सीमित भएको छ । राज्यलाई बुझाउने पुँजीगत लाभकर पनि त्यसैगरी अत्याधिक रुपमा घटेको छ । तर, यस विषयमा अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्ज कारोबारको विषय र पुँजीगत लाभकरको विषयमा बेखवर झै छन् । यो राज्य र लगानीकर्ताको लागि पनि ठूलो नोक्सानी हो ।
यति हुँदा हुँदै पनि सम्बन्धित निकायहरू उदासिन भइदिँदा थपिएका नयाँ कम्पनीहरूले नेप्सेको विन्दुलाई माथिल्लो विन्दुमा पुर्याउन खेलेको भुमिका प्रति बेखबर छन् । जसले गर्दा नेप्से परिसूचक माथिल्लो विन्दुमा देखिएता पनि कम्पनीका मूल्य भने नेप्से परिसूचक ११ सय देखि १८ सय विन्दु कै पेरिफेरिमा वा त्यो भन्दा तल्लो मूल्यमा छन् । जसले गर्दा परिसूचक माथि देखिएता पनि लगानीकर्ताको कम्पनीको मूल्यहरू अत्यन्त न्यून मूल्यमा छन् ।
लगानीका अन्य क्षेत्रहरूमा यो खालको विडम्बना कमै देख्न पाइन्छ । जुन पुँजीबजारमा विकराल समस्याको रुपमा खडा भएको छ । नियामक निकाय यसलाई सम्बोधन गर्ने तर्फ सधै नजर अन्दाज गर्दछ । सेयर बजारको चक्रलाई हेर्दाखेरि सेयर बजार अझै पनि ‘बुल रन’ मै देखिन्छ । तर, मूल्यले भने लगानीकर्तालाई ‘वियर ट्रेन’ को अनुभूति दिलाएको छ ।
जसले गर्दा लगानीकर्ताहरू नेप्सेको कारोबार प्रति नै दिक्भ्रमित भएका छन् । राष्ट्र बैंकको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा ४/१२ को क्यापलाई खारेजी वा संशोधनको प्रतिक्षामा लगानीकर्ता छन् भने धितोपत्र बोर्ड र नेप्सेबाट बजार सुधारको ५८ बुँदे निर्देशिकाका बाँकी १८ ब्ुँदाको कार्यान्वयनको प्रतिक्षामा लगानीकर्ता पर्खिरहेका छन् । जसले नेपालको पुँजी बजारलाई प्रविधिमैत्रीका साथै लगानीकर्ताको अधिकांश मागलाई सम्बोधन भई पुँजी बजारमा नयाँ पुनरजागरणको अभियानको रुपमा सन्जीवनी बुटीको काम गर्छ भन्ने प्रतिक्षामा तमाम लगानीकर्ता प्रतिक्षारत छन् ।