काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज बिहीबार पनि टुंगो लगाउन सकेन । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज पनि हेर्दा हेर्दैमा राखेको छ । मंगलबार पनि सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दा हेर्दैमा राखेको थियो । अर्को सुनुवाई भोलि शुक्रबार हुनेछ ।
गभर्नर अधिकारी र उनलाई निलम्बन गर्ने सरकारी पक्ष दुवै सर्वोच्च अदालत गएका थिए । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाई भएको छ । आफू निलम्बित भए पछि गभर्नर अधिकारीले सर्वोच्च अदालतमा रिटमार्फत अल्पकालीन अन्तरिम आदेश जारी गराएर काममा फर्कन सफल भएका थिए ।
अदालतले दुवै पक्षलाई बैशाख १३ गते विस्तृत छलफलको लागि बोलाएको थियो । १३ गतेपछि आज बिहीबार १५ गते फेरि गभर्नर अधिकारीको मुद्दामाथि छलफल भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्याएको गभर्नर पदबाट निलम्बन गर्न छानविन समिति बनाएका थिए ।