काठमाडौं । काठमाडौं महानगरपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी सृजना सिंहले सृजना सिंहका सात ‘स’ को संकल्प सार्वजनिक गरेकी छिन् । सिंहले विभिन्न ७ विधा कार्य गर्ने प्रतिबद्धतासहितको संकल्पको प्राथमिकतामा सेवा र सुशासनलाई राखेकी छिन् ।
सिंहले आफ्नो लक्ष्य प्राप्तीको लागि महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने, भ्रष्टचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने, उत्कृष्ट पालिकाको रुपमा काठामाडौं महानगरलाई स्थापित गर्ने र संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघ संस्था र समुदायसँग साझेदारी गर्ने समेत जनाएकी छिन् ।
संकल्प कार्यक्रममा सिंहले स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षामा शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँच युक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्ने बताएकी छिन् । सबै वडाहरूमा रोकथाम, परीक्षण, उपचार र पनस्र्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवद्र्वन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने र जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता गरेकी छिन् ।
स्वच्छ सफा, दिगो पर्यावरणमा काठमाडौं महानगरलाई फोहोरबिहीन नगरपालिका बनाउने, पिउने योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनाको व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्ने प्रतिवद्धता गरेकी छिन् ।
सुरक्षित सहरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांङता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने र विपद थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्ने उल्लेख गरेकी छिन् ।
संस्कृति, सम्पदा, र सभ्यतामा मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने उनको संकल्प छ । गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकास आफू केन्द्रीत हुने बताएकी छिन् ।
सवल र समुन्नत पूर्वाधारमा सहज रुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उनको प्रतिवद्धता छ ।
महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्व कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्ने प्रतिबद्धता उनको पप्रतिवद्धता छ ।
सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासीमा युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने र उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उनलेका प्रतिबद्धता छ ।