तरलता अभाव सहज गर्न राष्ट्र बैंकले २ अर्बभन्दा बढी लगानी गर्दै

काठमाडौं । वैशाख लाग्दा समेत वित्तीय बजारमा तरलता सहज नभएपछि राष्ट्र बैंकले मुद्दति निक्षेपमा २ अर्ब ५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरूमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले २०७९ जेठ ३ गतेदेखि २०८० जेठ २ गतेसम्म ३६५ दिने मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले वैशाख २० गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ६० करोड ५ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ३० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा १० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको लगानी लिन चाहने बैंक तथा फाइनान्स कम्पनीहरूले आवेदन दिनका लागि सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम भएको हुनुपर्ने, निस्कृय कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्ने छ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने पनि केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स