मेलम्चीको पानी आजैदेखि नियमित वितरण सुरु, कहाँ-कहाँ आउँछ पानी ?

काठमाडौं । मेलम्चीको पानी काठमाडौं आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ ।

आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गरेको हो ।

आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन महांकाल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदैछ । भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण गरिने भएको छ ।

उपत्यकामा रहेका १० ट्यांकीबाट खानेपानी वितरण गरिनेछ । वर्षामा सुरुङ बन्द गर्नुपर्ने अवस्था आउँदा बागमतीको पानी वितरण गरिने चौधरीले जानकारी दिए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले गतवर्ष नभएकामा यसवर्ष भक्तपुरमा पनि पानी वितरण गरिने बताए । एक दुई दिन बिराएर उपभोक्ताका घरघरमा पानी वितरण हुने उनको भनाइ छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटाले निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताका घरघरमा पानी पु¥याउन आवश्यक संरचना निर्माण गरेको बताए । आवश्यक संरचना निर्माण सकिएको उनको भनाइ छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गतवर्ष केही समय पानी वितरण गरिएको भए पनि बाढीका कारण वितरण ठप्प हुँदा नागरिक निराश भएको बताए । उनका अनुसार अहिले पुनः पानी आउँदा नागरिकमा आशा पलाएको छ ।

लिमिटेडका बानेश्वर शाखा प्रमुख नारायण कर्णले शाखाले तालिका प्रकाशित गरेर आम उपभोक्तालाई पानी वितरणबारे जानकारी गराइरहेको बताए ।

केयूकेएलको मीनभवन शाखाका अनुसार आज विहान ९ देखि ११ बजेसम्म पानी वितरण गरिएको थियो । तालिका नबनिसकेकाले पानी कतिखेर आउँछ भन्ने तय भइसकेको छैन ।

अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पनि केही दिनमा मेलम्चीको पानीको वितरण सुरु हुनेछ ।

केही दिनमै दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुनेछ । गत वर्ष परीक्षा भइसकेका मेलमचीको धारासहित अन्य परीक्षण सकिएका धारामा मेलम्चीको पानी आउनेछ भने नयाँ धाराको निर्माण भइनसकेको र परीक्षण नभएको घरमा पुरानै धारामा पानी आउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स