इच्छाशक्तिले कमाएको नाम र दाममा रमाउँदै रामवृक्षको परिवार

विराटनगर । इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरेर लाखौँ आम्दानी गर्न उनले सफल भएको छ । विगतमा लागत धेरै लागेको र आर्जन थोरै गर्न सकिए पनि व्यवसायमा दिएको निरन्तरताले अहिले अपेक्षित लाभ लिइरहनु भएको छ ।

देवानगञ्ज गाउँपालिका–२ निवासी मेहताले सुरुमा १ करोडभन्दा बढी लागत लगाएर बीउ प्रशोधन केन्द्र स्थापना गरे । यसका लागि पालिकाले ४ लाख र कृषि ज्ञान केन्द्र सुनसरीले ८ लाख सहयोग गरेको उनले जानकारी दिए । सानैदेखि कृषि पेशामा समर्पित मेहताले २० लाखमा बीउ प्रशोधन मेसिन खरिद गरे ।

उनले गएको वर्षमा प्रशोधित १६० मेट्रिक टन धानको बीउ बिक्री गरे । मसिनो धान प्रतिकेजी १०० र अन्य धान प्रतिकेजी रु ५५ देखि ६० सम्म बिक्री गरे । बीउ वृद्धिका लागि स्थानीय किसानका गहुँका लागि ६० हेक्टर र धानका लागि ८० हेक्टर जग्गा उपयोग गर्दै आएका छन् ।

बजार मूल्यभन्दा २० प्रतिशत बढी मूल्य दिएर बीउ वृद्धिका लागि किसानलाई प्रोत्साहन गर्दै उत्पादनका लागि खेत उपभोग गरिरहेको पाइएको छ ।

यस वर्ष मेहताले धान १२५ मेट्रिक टन र गहुँ १२५ मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य लिएका छन् । उनले यसमा मात्र सीमित नरहेर अग्र्यानिक मल पनि उत्पादन गरिन् । अग्र्यानिक मलका लागि आवश्यकताअनुसार भैँसी र गाईवस्तु पनि पाल्नुभएको छ । गोबर, घाँसपातलाई कुहाएर बनाउने अग्र्यानिक मलको गुणस्तर जाँच तथा प्रमाणीकरणका लागि पहिलो वर्ष नार्क नामक संस्थालाई ४ लाख भुक्तानी गरेको र त्यसपछि वर्षेनी ६ हजार मलका नमूना जाँच गरेको शुल्क तिर्ने गरेको प्रशोधन सञ्चालक मेहताले बताए ।

‘अग्र्यानिक मल उत्पादन गर्दा रासायनिक मल विस्थानपन हुने र रासायनिक मल प्रयोग गर्दा उत्पादन लागत बढ्दै जाने र मुनाफा कम हुने भएकाले यस क्षेत्रका किसान अग्र्यानिक मलतर्फ रुचि बढेको पाइएको छ,’ उनले भने ।

प्रतिकेजी २० दरले बिक्री हुने अग्र्यानिक मल गएको वर्षमा ६० मेट्रिक टन बिक्री भएको छ । यस वर्ष अग्र्यानिक मल उत्पादन वृद्धि गर्ने सोच र उद्देश्य रहेको मेहताको भनाइ छ । परिवार सबै मिलेर गरिरहेको यस कामका लागि उनले एक कृषि अधिकृत र एक जना जेटिएलाई जागिर पनि दिए ।

दैनिक १५ जनालाई प्रत्यक्षरूपमा रोजगारी दिँदै आएका कृषक मेहताले जिल्लास्तरबाट राष्ट्रपति पुरस्कार र बीउबिजन उत्कृष्ट राष्ट्रिय पुरस्कार पाएका थिए । खर्च काटेर वर्षमा ३० लाख आम्दानी गर्छु,’ उनले भने ।

यही आम्दानीबाट उनले एक छोरा आनन्दलाई एमबिबीएस उत्तीर्ण गराएर एमडीमा भर्ना गरे भने एक छोरी अम्बिका बीएससी नर्स र अर्की छोरी आरती बिएससी एजीसम्मको शिक्षा दिए । उनले यस अतिरिक्त दुई बिघा पाँच कठ्ठा जग्गामा तरकारी खेती गरे । बजारको समस्या नभएको बताउने कृषक मेहताको तरकारी खेतीमा पर्वल, करेला, भिण्डी, खुर्सानी, काँक्रो अहिले बेजोडले फलेको देख्न पाइन्छ । व्यापारीले खेती भएकै ठाउँमा तरकारी खरिद गर्ने गरेकाले कहिँ कतै भौतारिनु नपरेकामा खुसी व्यक्त गरे ।

आनन्द सिड्स एण्ड अग्र्यानिक फर्टिलाइजर नाम दिएको आफ्ना कारखानाबाट प्रभावित भई उनले सहोदर भाइ उमेशकुमार मेहताले पनि अग्र्यानिक मल उत्पादन सुरु गरे । गएको वर्षमा उनले १० मेट्रिक टन अग्र्यानिक मल बिक्री गरे । यस वर्ष उत्पादन बढाउने दिशातर्फ अग्रसर देखिएको छ । उनले १० वटा गाई पालेकी छिन् ।

दैनिक १५ लिटर प्रतिलिटर ५० कार दरले दूध पनि बेच्दै आएको छ । आफ्नो पेशामा समर्पित मेहताका श्रीमती अनिता भारतीले दिनरात नभनी श्रीमान्को काममा सघाउँदै आएकी छिन् ।

प्रदेश नं १ का कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सेनाले निरीक्षण एवम् अनुगमन गर्दै आफ्नै सीप, ज्ञान र क्षमता प्रयोग गरेर कृषि क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेकाले कृषकको मागलाई सक्दो सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कृषि ज्ञान केन्द्र सुनसरी मोरङ सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले किसानले गरेको मेहेनतबाट नै राष्ट्र निर्माण हुने भएकाले कृषि उत्पादन बजार बिचौलियाको हातमा पर्न नहुने भन्दै श्रम, सीप र लागत लगाउने किसानले बाली उत्पादनबाट उचित लाभ लिनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स