काठमाडौं । शनिबार बसेको एमाले सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
एमालेको महानगर कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर स्थापित, नगर अध्यक्ष निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिफारिस भएकाभन्दा फरक व्यक्तिलाई अघि सार्न सक्ने समेत बताएका थिए । तर, स्थापितले नै टिकट पाएका छन् । स्थापितले यस अघि मेयर भएका बेला माइतीघर मण्डला र रत्नपार्क रानी पोखरीमा रहेका घर तथा टहराहरू हटाएका थिए ।
उपमेयरको टिकट पाएकी डंगोलले भने मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मिस नेवाः समेत रहेकी उनले चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेको अवस्थामा एमालेबाट उपमेयरको टिकट पाएकी हुन् ।
ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाइएको छ । ललिपुर नगर कमिटीले भने उनीहरुको मात्र नाम सिफारिस भएको थियो । मेयरको टिकट पाएका व्यञ्जनकार २०७४ मा पनि चिरिबाबु महर्जनसँग केही सय मतान्तरले पराजित भएका थिए भने मञ्जली पूर्व माओवादी समूहबाट एमालेमा आएकी हुन् ।
पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । पोखराको मेयरका लागि १२ जनाले दावी पेश गरेका थिए । जसमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहबीच प्रतिष्ठाको लडाई भइपछि मतदान गर्ने तय समेत भइसकेको थियो । लामो समय शिक्षक आन्दोलनमा जोडिएका पौडेल ओली निकट मानिन्छन् ।
उपमेयरको टिकट पाएकी मञ्जुदेवीले यो पटक उम्मेदवारीका लागि दावी नै पेश गरेकी थिइनन् । तर, एमालेले उनलाई टिकट दिएको छ ।
भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । नगर कमिटीले उनको मात्र नाम सिफारिस गरेको थियो । टिकट पक्का जस्तै भएकाले उनले बागमती प्रदेशसभाको सदस्यबाट समेत राजीनामा दिइसकेका छन् । एमालेले उपमेयरको उम्मेदवार टुंग्याएको छैन । राप्रपासँग तालमेलको प्रयास गर्ने, नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।
एमालेले वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर जितेका उनी टिकट पाउने शर्तमै एमाले प्रवेश गरेका थिए । एमालेले उपमेयर भने चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई छाडेको छ ।
विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । मेयरमा सागर गापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने सम्भावना छ । तर, अध्यक्ष ओलीले थप अध्ययन गरेर मात्र मेयर र उपमेयरको उम्मेदवारबारे निर्णय गर्ने बुझिएको छ ।
उपमहानगरमा को को परे प्रमुख र उपप्रमुख ?
एमाले सचिवालय बैठकले ९ वटा उपमहानगरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमरा उपमहागरको प्रमुख र उपप्रमुखकै उम्मेदवार बाहेक अन्य उपमहानगरको प्रमुख र उपप्रमुख भने टुंगो लगाएको छ । जितपुर सिमराको मेयर र उपमेयरको विषय ओली नै निर्णय गर्ने एमालेले बताएको छ ।
जसअनुसार धनगढीको प्रमुख रणबहादुर चन्द र उप प्रमुखमा कन्दकला राना थारुले टिकट पाएका छन् । नेपालगञ्जमा पशुपतिदयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उमपेयरको उम्मेदवार बनाइएको छ । मिश्र मेयरको टिकट पाउने शर्तमा केही महिना पहिले एमाले प्रवेश गरेका थिए ।
तुलसीपुरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई टिकट दिएको छ । घोराहीको मेयरमा नरुलाल चौधरीलाई फेरि उम्मेदवार बनाएको छ । उनी २०७४ मा एमालेबाट घोराहीको मेयर चुनिएका थिए । उपप्रमुखमा भने हिमाकुमारी डिसीलाई टिकट दिने निर्णय भएको छ ।
एमालेले हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले र बुटवलको मेयरमा बाबुराम खड्का र उपमेयरमा साबित्रादेवी अर्याललाई उम्मेदवार बनाएको छ ।
इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगिता चौधरीलाई टिकट दिएको छ । धरान उपमहानगरमा मञ्जु भण्डारीलाई मेयरको टिकट दिइएको छ । उनी वर्तमान उपमेयर हुन् । धरानको उपमेयरमा भने पदम लिम्बुलाई उम्मेदवार बनाएको एमाले सचिवालयले कलैया उपमहानगरको मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमेमरमा रोशन प्रविणको सम्भावना छ । यसबारे अध्यक्ष र उपपाध्यक्षले निर्णय गर्ने सहमति जुटेको छ ।
जनकपुरमा शिवशंकर साहको सम्भावना छ । एमाले प्रदेश कमिटीले उनको नाम सिफारिस गरेको छ । तर लोकतान्त्रिक समाजवादी पार्टीबाट जानकीराम साह पनि एमाले प्रवेश गरेका छन्, जो मेयरका टिकटका आकांक्षी हुन् । त्यसैले यसबारे अध्यक्षलाई नै निर्णय गर्ने अधिकार दिइएको एक पदाधिकारीले जानकारी दिए ।