तथ्यांक र तथ्यांकीय साक्षरता, किन र कसका लागि ?

काठमाडौं । राज्यको नीति, योजना र विभिन्न प्रकारका निर्णय प्रक्रियादेखि व्यक्ति, परिवार र समुदायस्तरका विविध विषयहरू तथ्य, तथ्यांक र सूचनामा आधारित हुने क्रम बढ्दो छ । तथ्यांक र सूचना वर्तमान समयमा एक शक्ति र बहुउपयोगी सामग्रीका रूपमा बुझिन थालेको छ ।

कुनै कुनै आधारभूत र सार्वजनिक सरोकारका तथ्यांकहरू मात्र साक्षर व्यक्तिहरूले सजिलै बुझ्न सक्नेखालका हुन्छन् भने कतिपय महत्वपूर्ण तथ्यांकलाई बोध गर्नका लागि र तिनले प्रस्तुत गर्ने सन्दर्भगत वास्तविक अर्थलाई प्रयोग गर्न तथ्यांकीय साक्षरता अपरिहार्य हुन्छ । बोलीचालीमा तथ्यांक जति सरल र सर्वव्यापी देखिन्छ त्यो यथार्थमा गहन र जटिल पनि छ ।

विद्यार्थी, शिक्षक र प्राध्यापकदेखि आम नागरिक, सञ्चारकर्मी, जनप्रतिनिधि, प्रशासक, सबैस्तरका नीतिनिर्माता र निर्णयकर्ताहरूलाई सरकारी स्तरबाटै तथ्यांकीय साक्षरताको आवश्यकता लामो समयदेखि महसुस गरिएको थियो ।

त्यो आवश्यकता परिपूर्ति गर्ने अभीष्टले गर्दा नै यो पुस्तक तयार पारिएको हो । यसर्थ, यसका लक्षित पाठकहरू आम जनमानसदेखि राज्य सञ्चालनका यावत् अंगहरूमा क्रियाशील कर्मचारी, पदाधिकारी, व्यवस्थापक र विधायकसमेत हुन् ।

तथ्यांकीय विषयवस्तुलाई सबै प्रकारका सञ्चार माध्यममा समेट्ने सञ्चारकर्मीहरूलाई स्वाभाविक रूपमा यस पुस्तकको महत्वपूर्ण लक्षित समूह आत्मसात गरिएको छ ।

तथ्यांक के हो र कसरी उत्पादन हुन्छ भनेर ठुला ठुला किताबहरू बजारमा उपलब्ध नभएका होइनन् । खासगरी अङ्ग्रेजी भाषामा यसप्रकारका थुप्रै पुस्तकहरू पाउन सकिन्छ ।

हाम्रा लागि सरल नेपाली भाषामा लेखिएको र हाम्रो आफ्नै कामको प्रकृति, सन्दर्भ र भूगोलसँग सम्बन्धित उदाहरणसहित सजिलै बुझ्न सकिने तथ्यांकसम्बन्धी पुस्तकको सर्वथा अभाव रहेको थियो । आज सार्वजनिक गरिएको पुस्तक तथ्यांक र तथ्यांकीय साक्षरता एक हिसाबले खुला नापको पुस्तक हो ।

यस पुस्तकलाई तथ्यांकशास्त्रभित्रका विभिन्न सैद्धान्तिक र व्यावहारिक विषयवस्तुहरूको आधारभूत ज्ञान कोश बनाउने प्रयास गरिएको छ ।

नेपालको तथ्यांक प्रणालीको परिचय, संवैधानिक, कानुनी र नीतिगत व्यवस्थादेखि यस पुस्तकमा स्थूल तथ्यांक र डिजिटल साक्षरतासम्मका पठनीय सामग्रीहरू समावेश गरिएका छन् ।

तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, प्रस्तुतिकरण, व्याख्या, वितरण, प्रयोग र भण्डारणसमेतका चरणहरूमा हुने उपयोगी कुराहरूलाई यस पुस्तकले प्रकाश पारेको छ ।

तथ्यांकको स्रोत के हो ? आधिकारिकता के हो ? विधि के हो ? राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यास र मान्यताहरू के हुन् जस्ता प्रश्नहरूको सरल उत्तर यस पुस्तकमा पाउन सकिन्छ । यो पुस्तकले दुई वटा आवश्यकता परिपूर्ति गर्ने विश्वास लिइएको छ ।

पहिलो, पाठक र जिज्ञासुहरूले विगत लामो समयदेखि खोजी गरिरहेको तथ्यांकीय साक्षरतासम्बन्धी पुस्तकको अभाव सम्बोधन भएको छ । दोस्रो, यसले नीति, योजना र निर्णय निर्माण प्रक्रियामा तथ्यांकीय सचेतनाको मर्म र आवश्यकतालाई पैरवी पनि गरेको छ ।

तथ्यांकीय सचेतना र सीपयुक्त मानव संसाधनले मात्र कुनै व्यवस्थापन, प्रशासन र शासन तथ्यसम्मत, पारदर्शी र जवाफदेही हुन सक्दछ । तथ्यांकीय साक्षरता र सचेतनाको लागि यसलाई हामीले एउटा प्रस्थान बिन्दुका रूपमा लिएका छौं ।

पुस्तक स्वयम्मा केही होइन जब त्यसलाई पढिन्न र व्यवहारमा रूपान्तरण गरिँदैन । तथ्यांकीय साक्षरतालाई केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने हाम्रो उद्देश्यमा यो पुस्तक एक आधारभूत सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुनेछ भन्ने विश्वास लिएका छौं ।

यस पुस्तकको सबल पक्ष भनेको विभिन्न परिच्छेदहरूमा आवश्यकतानुसार वास्तविक तथ्यांकमा आधारित उदाहरणहरू हुन् । त्यसै गरी यहाँ पाठकहरूले आफ्नो बुझाइ र सिकाइलाई स्वयम् परीक्षण गर्न सकून् भन्ने ध्येयले प्रत्येक परिच्छेदको अन्त्यमा अभ्यासका लागि प्रश्नहरू राखिएका छन् ।

विषयवस्तुलाई विस्तारमा अध्ययन गर्न चाहने जिज्ञासु पाठकहरूका लागि सन्दर्भ सामग्रीहरूको सूची पनि दिइएको छ । तथ्यांक विश्लेषणका लागि अत्याधुनिक कम्प्युटर एप्लिकेसनहरू उपलब्ध छन् ।

सामान्य व्यक्तिहरूको उपयोगमा आउने माइक्रोसफ्ट एक्सेलको आधारभूत ज्ञानदेखि विश्वभरि नै लोकप्रिय रहेको सफ्टवेयरको समेत कार्य उपयोगी ज्ञान यस पुस्तकले दिने जमर्को गरेको छ ।

राष्ट्रिय योजना आयोगको समन्वयकारी नेतृत्व, केन्द्रीय तथ्यांक विभागका विज्ञहरूको प्राविधिक ज्ञान तथा सीप, द एसिया फाउण्डेसनमार्फत् बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विकास उद्यमी (नेपाल इन डाटा) को व्यवस्थापकीय संलग्नताको समष्टिगत सहकार्यमा यो पुस्तक तयार गरिएको छ ।

यसलाई राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभाग र विकास उद्यमीसमेतको वेबसाइटबाट निशुल्क डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ । यसका मुद्रित प्रतिहरू तत्काल केन्द्रदेखि स्थानीय तहसम्मका सरोकारवालाहरूको प्रयोगार्थ उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स