भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने

काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताएका छन् ।

पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएको हो ।

मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए ।

भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए ।

सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको उनले उल्लेख गरे ।

भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेको स्वकीय सचिव तिवारीले जानकारी दिए । हालै भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक मुख्यमन्त्री भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स