महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै यही बैशाख ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने भएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव र बीमा समितिका कार्यकारी निर्देशकलाई छुट्टाछुट्टै भेटी आन्दोलनको कार्यक्रमबारे जानकारी गराएको हो ।

महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसदुन बुर्लाकोटीलाई बुझाएको ज्ञापन पत्रमा आफ्ना मागहरूका सम्बन्धमा सम्बन्धित् सरकारी निकायहरुमा जानकारी गराए पनि कुनै सुनुवाई नभएको उल्लेख गरेको छ । निर्माण सामाग्रीमा अप्रत्यासित अत्याधिक रुपले भएको मूल्यबृद्धि, म्याद थप, सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली–२०७८ मा आएका केही प्रावधान, बीमा सम्बन्धी निर्देशिका–२०७८ लगायतका व्यवस्थाहरुमा संशोधन तथा खारेज हुनुपर्ने आफ्ना माग सम्बोधन नभएको महासंघले जनाएको छ ।

निर्माण उद्योगका समस्या समाधानका लागि महासंघले पर्याप्त समय दिदाँ समेत मागहरु सम्बोधन नभएको महासंघका महासचिव रोशन दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ । जटिल अवस्थाबाट गुज्रिरहेको नेपालको निर्माण उद्योगलाई सही दिशा दिई भौतिक पूर्वाधारको क्षेत्रमा समर्पित सबै खाले निर्माण व्यवसायीहरूको वृद्धि विकासका लागि महासंघले उठाएका मागहरू कार्यान्वयन गर्नु अपरिहार्य रहेको ज्ञापन पत्रमा लेखिएको छ ।

त्यस्तै बिमा समितिमा बुझाइएको ज्ञापन पत्रमा समितिबाट जारी गरिएको बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको लागि पटक पटक पत्राचार तथा ज्ञापन–पत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

निर्देशिकाको व्यवस्था अनुसार बीमा कम्पनीहरुले विगतमा लिइरहेको प्रिमियम दरमा चार–पाँच गुणा बढी वृद्धि गर्ने र विगतमा बीमा कम्पनीहरुले दाबी भुक्तानी गरी रहेको ७० देखि ८० प्रतिशत दावी रकम बीमकलाई भुक्तानी नै गर्न नपर्ने एक्सेस भ्यालुमा आठ देखि दश गुणा वृद्धि गर्ने प्रावधान राखी जारी गरिएको निर्देशिका अति नै अव्यवहारिक तथा अवैज्ञानिक रुपले बीमा कम्पनीहरुलाई मात्र अत्याधिक फाइदा हुने र बिमितले बीमा गरेको कुनै अर्थ नै नहुने खालको भएकाले निर्देशिका खारेज हुनुपर्ने महासंघको माग छ ।

भेटमा महासंघको तर्फबाट अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा, उपाध्यक्षहरु रामजी पन्त मुकेश, मोहन प्रसाद अधिकारी, बालकृष्ण थापा, महासचिव रोशन दाहाल, उपमहासचिव, शिवहरी घिमिरे, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु, अशोक के.सी, प्रमोद लामिछाने, उज्वल गौतम, दिनेश रिजाल, उपेन्द्र घिसिङ, रविन जोशी, गीता शाही, दान बहादुर खड्का महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिर्कत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स