काठमाडौं । लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवद्र्धक एवम् उत्पादक कम्पनीविरुद्ध विद्युत नियमन आयोगले कारवाही गर्ने घोषणा गरेसँगै जलविद्युत कम्पनीको सेयरमा पहिरो गएको छ ।
पछिल्लो समय जलविद्युत कम्पनीहरुले हकप्रदक सेयर वितरण गर्ने भनेर सूचना प्रवाह गरिरहेका छन् । लगानीकर्ता सञ्चालनमै नआएको कम्पनीको सेयर १०० रुपैयाँमा खरिद गर्न पाउने प्रलोभनका कारण जलविद्युतका सेयरमा झुम्मिएका छन् । कुनै समय १०० रुपैयाँभन्दा तल रहेको जलविद्युतको सेयर अहिले १ हजार रुपैयाँभन्दा माथि पुगिसकेको छ ।
अफवा र भ्रमपूर्ण सूचनाका कारण लगानीकर्ताको सम्पत्ति जोखिममा रहेको भनेर बिहीबार विद्युत नियमन आयोगले लगानीकर्तालाई सचेत गर्न सूचना जारी गरेको थियो । आयोगले जलविद्युतको सेयर किन्न लगानीकर्ताले १६ वटा सूचक ख्याल गर्नुपर्ने भनेर सूचनामा लेखिएको छ ।
बिहीबार जलविद्युत कम्पनीको सूचक १२३.३१ अंकले घटेको छ ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानी खोला हाइड्रोपावर, पञ्चकन्या माई हाईड्रोपावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
नेप्से आज १८.२४ अंकले घटेर ३१८०.७८ विन्दुमा पुगेको छ ।