काठमाडौं । विकास साझेदार अमेरिकाले नेपाललाई पहिलो पटक बजेटमा समावेश हुने गरी थप ८० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । सो सहयोगमध्ये आगामी आवमा १८ अर्ब आउने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अमेरिकाले नेपाललाई एमसीसी वाहके थप अनुदान स्वरुप ८० अर्ब रूपैयाँ दिन लागेको हो । अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य नियोग (यूएसएड)ले नेपाललाई ६५९ मिलियन डलर अनुदान दिने भएको हो । अमेरिकाको उक्त सहयोग आवश्यकता अनुसारका क्षेत्रमा खर्च गर्न सकिने छ । चैत ३० गतेको मन्त्रिपरिषदले सो सहयोग स्वीकार्ने निर्णय गरेको हो ।
यस अघि सरकारले फागुन तेस्रो साता करिब ५५ अर्ब रुपैयाँ बराबरको एमसीसी अनुमोदन गरिसकेको छ ।
वर्तमान सरकार गठन भएपछि कम मात्रै वैदेशिक सहायता आइरहेको अवस्थामा यसलाई ठूलो सफलताको रूपमा हेरिएको छ । एमसीसी पारित भएपछि अमेरिकाले नेपाललाई दिने अनुदान रकम बढाएको हो । आगामी ४ वर्षमा अमेरिकाले उक्त सहयोग नेपाललाई उपलब्ध गराइ सक्नेछ ।