बिहीबारदेखि मेलम्चीको पानी पुनः उपभोक्ताको धारामा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले आज मंगलबारदेखि मूल सुरुङबाट पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुनः पठाउन लागको हो ।

आजदेखि मेलम्चीबाट पानी पठाउन सुरु गरिए पनि उपभोक्ताको धारमा पानी भने नयाँ वर्ष २०७९ वैशाख १ गतेबाट झर्ने भएको छ । आजको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नै सहभागी हुने भए पनि निर्वाचन आचारसंहिताका कारण उनी सहभागी नहुने भएका छन् ।

यसअघि २१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री विना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । २२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर वागमती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।

अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटनलाई जोड्दा अव हुने उद्घाटन ७ औ औपचारिक उद्घाटन हो । वर्षाका कारण क्षति भएपछि मर्मत गर्न ८ महिना लाग्यो । हेडवक्र्सको निर्माण नसकिँदै गत १ असारमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस भयो ।

सरकारले त्यतिबेला सुरुङ खाली गरेर गर्नुपर्ने सुपरीवेक्षण र सुधारको काम नगरी पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।

त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको समुद्घाटन गरेकी थिइन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स