कृषि कर्जा बैंकले होइन लघुवित्तले दिने हो : प्रकाशराज शर्मा

काठमाडौं । काठमाडौंमा भेला भएका लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारले निश्चित गरेको कृषि कर्जा लघुवित्तमार्फत प्रवाह गर्न माग गरेका छन् । अहिले वािणज्य बैंकहरूले दिँदै आएको उक्त कर्जा लघुवित्त मार्फत दिँदा लक्षित कृषकसम्म पैसा पुग्ने उनीहरूको तर्क छ ।

‘बैंकहरूले राष्ट्र बैंकद्वारा निर्देश गरिएको कृषि कर्जा लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्न सके एकतिर लक्षित वर्गसम्म सहजै कर्जा पुग्ने थियो भने अर्कोतर्फ बैंकलाई कृषि कर्जाको सीमा पुर्याउन सहज हुने थियो,’ लघुवित्त वित्तीय बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले भने ‘हामी अहिले महँगो ब्याजमा कर्जा लिन बाध्य भएका छौं ।’

लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूले राष्ट्र बैंक निर्देशित कर्जाहरू आफूले परिचालन गर्न पाउनु पर्ने बताएका हुन् । आइतबार नेपाल लघुवित्त बैकर्स संघ (एनएमबिए) र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटघाट कार्यक्रममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गर्नै पर्ने भनिएको निर्देशित कृषि कर्जा लघुवित्तमार्फत प्रवाह गर्नुपर्ने एनएमबिएका अध्यक्ष शर्माले भनाइ राखे ।

बैंकहरूसँग ६ प्रतिशत प्रिमियम तिरेर कर्जा लिनुपर्ने बाध्यता छ,’ उनले भने ‘यदि कुनै बैंकको ब्याजदर ८ प्रतिशत रहेछ भने थोक कर्जा कै १५ प्रतिशत ब्याज पर्न आउँछ । यसले गर्दा पनि अन्य वित्तीय संस्थाको भन्दा लघुवित्त वित्तीय संस्थाको ब्याज महँगो पर्न गएको हो ।’ सो कारण लघुवित्तले पनि निक्षेप संकलन गर्न पाउने, आधारदर (बेसरेट) निकाल्न पाउने व्यवस्था हुनेपर्ने उनको माग छ ।

‘हामीले सो कर्जा उपयोग गर्न पाए एकातिर निक्षेपको अभाव हुने थिएन भने अर्कोतर्फ राष्ट्र बैंकले प्राथमिकतामा राखेका क्षेत्रमा लगानी हुने थियो,’ उनले भने ‘बैंकहरूले लघुवित्तलाई उपलब्ध गराएको थोक कर्जा कृषि कर्जामा गणना हुने व्यवस्था भएमा बैंकहरूलाई पनि लक्षित कर्जाको सीमा पुर्याउन गाह्रो पनि हुने थिएन ।’

नेपाल राष्ट्र बैंकले चालु आवको अन्त्यसम्म अर्थात असारमसान्तसम्म कुल कर्जाको १३ प्रतिशत कृषि कर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८० सम्ममा कुल कर्जामा यस्तो कर्जा १५ प्रतिशत पुग्नु पर्ने निर्देशन छ । यदि नीति परिवर्तन गरेर लघुवित्तमार्फत प्रवाह गरिएको कर्जा पनि यस क्षेत्रमा गणना गर्न पाउने व्यवस्था भएमा २०८० को असारमसान्तसम्ममा बैकिङ क्षेत्रबाट ८२ अर्ब ८७ करोड रुपैयाँ लघुवित्तमा प्रवाह हुने एनएमबिएले जानकारी दिएको छ ।

चालु आवको माघसम्म कुल कर्जामध्ये ३ खर्ब १९ अर्ब १० करोड रुपैयाँ कृषि तथा वनपैदावारमा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । गत आवको अन्त्यसम्म २ खर्ब ७३ अर्ब ९० करोड रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह भएको थियो । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४६ खर्ब ८९ अर्ब ९५ करोड कर्जा प्रवाह गरेका छन् । सो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा जम्मा ६.८० प्रतिशतमात्रै कर्जा प्रवाह गरेको देखिन्छ । जवकि यस आवको अन्त्यसम्म यस्तो कर्जा १३ प्रतिशत पुर्याउनु पर्ने बाध्यता बैंकहरूलाई रहेको छ ।

लघुवित्त वित्तीय संस्थाहरूलाई महँ्गो ब्याज लिएको आरोप लाग्दै आएको छ । कम्पनीहरूको आफ्नै स्रोत नहुँदा र कर्जा प्रवाह गर्ने निक्षेप बैंक तथा वित्तीय संस्थाबाट लिएर प्रवाह गर्नुपर्ने बाध्यता भएकोले पनि कर्जा महँगो पर्न गएको संघका अध्यक्ष शर्माले गुनासो गरे ।

पौने ३२ लाख घरधुरीमा पुग्यो माइक्रोफाइनान्स

काठमाडौं । नेपालमा लघुवित्त सुरु भएको ३० वर्ष पुगिसकेको छ । गाउँ गाउँमा वित्तीय पहुँच पुर्याउन र गरिबी निवारण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो सेवालाई विस्तार गरेर ३१ लाख ७० हजार घरपरिवारसम्म पुर्याएको नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष शर्माले बताए । ‘लघुवित्तले गरिबी निवारणदेखि महिला सशक्तिकरण, वित्तीय पहुँच पुर्यान तथा लिडरसीप जन्माउन समेत ठूलो भूमिका खेलेको छ,’ उनले भने ‘ उनले भने ‘लघुवित्तमा ५६ लाख २० सदस्य छन् । ’

लघुवित्तका सो सदस्यमध्ये ३१ लाख ७० हजारले ३ खर्ब ७५ अर्ब ८४ करोड कर्जा उपभोग गरेका छन् भने १ खर्ब ४६ अर्ब बचत गरेका छन् । लघुवित्तले आफ्नो सदस्यलाई कर्जा परिचालन गर्न बैंक तथा फाइनान्स कम्पनीबाट १ खर्ब ८९ अर्ब ८४ करोड कर्जा लिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स