काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले पौडेललाई कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
लामो प्रतिक्षा र विवादपछि सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । कम्पनीका कर्मचारीले कम्पनीभित्रैबाट वरिष्ठलाई नियुक्त गर्न दबाब र आन्दोलन गरे पनि सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका पौडेललाई नियुक्त गरेको हो ।
टेलिकममा पहिलोपटक संस्था बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । पौडेल नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै टेलिकमको नेतृत्वमा आएका हुन् ।
बिहीबार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पौडेल सहित टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडीको नाम सिफारिस गरेको थियो । कम्पनीको प्रबन्ध निर्देशकका लागि टेलिकमका वरिष्ठ कर्मचारी सुरजसिंह थापा, नेपाल टेलिकमका पूर्व कर्मचारीहरू नागेन्द्र कुमार दास, अमलेन्दु नारायण सिंह र सीए प्रदीपराज उपाध्यायले समेत दाबेदारी प्रस्तुत गरेका थिए ।
तर रणनीतिक महत्वको र निकै ठूलो आर्थिक चलखेल गर्न पाइने नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार भित्राउने योजनाअनुसार पौडेललाई ल्याइएको जनाइएको छ । उनी टेलिकम क्षेत्रमा विज्ञ नभए पनि शक्ति केन्द्रलाई प्रभावित पारेर एमडी बन्न सफल भएका हुन् ।
विवादास्पद छवीका पौडेल विभिन्न सूचना प्रविधिसम्बद्ध आयोजनाहरुमा एजेन्टका रुपमा रहने र सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिताता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल निकट व्यक्ति पनि हुन् ।